15Shares

पोखरा । पोखरामा पहिलो पटक हुन लागेको नाडा प्रिजेन्ट्स वाडा अटो सो २०२५ को तयारी पुरा भएको छ । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) ले पोखरामा गर्न लागेको नाडा प्रिजेन्ट्स ‘वाडा अटो सो २०२५’ को सम्पुर्ण तयारी पुरा भएको तथा बिहिबार विहान ११ बजेदेखि औपचारिक रुपमा शुरु हुने कार्यक्रम संयोजक एवम वाडाका उपाध्यक्ष निरन केसीले बताए ।
अमरसिंहचौरमा चैत्र १४ गते विहिबारबाट शुरु भइ ४ दिन सम्म चल्ने सोमा १९ वटा ब्राण्डका ४–पाङ्ग्रे, ६ वटा ब्राण्डका लाइट कमर्शियल, ७ वटा ब्राण्डका २–पाङ्ग्रे लगायत लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण, अन्य एशोसेरिजहरू तथा वित्तीय संस्थाहरूका २० वटा स्टलहरू रहने प्रचार संयोजक विनय थापाले जानकारी दिए ।
यस अघि कार्यक्रमको प्रचारप्रसारका लागि पोखरा उपत्यका मोटर रेस, केभ टु केभ मोटर साइकल र्याली, सरसफाइ कार्यक्रम गरिएको थियो । कार्यक्रमले शिथिल बनेको अटोबजार र अर्थतन्त्रलाई चलायमान बनाउनुका साथै भिजिट पोखरा २०२५ लाई पनि टेवा पुग्ने आयोजक पश्चिमान्चल अटोमोवाइल्स डिलर्स एसोशिएसनका अध्यक्ष दीपेन्द्र कोइरालाले बताए ।
नविनतम् सवारी साधनका मोडलहरू, आधुनिक प्रविधिहरू तथा यस क्षेत्रका अन्य सेवा प्रदायकहरूको एकै थलोमा प्रदर्शन हुनुका साथै नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२५ मा स्थानीय एवं देशभरबाट डिलर, उत्पादक, विक्रेता एवं ग्राहकहरूको भेलाले गण्डकी प्रदेशमा सवारी साधन र सम्बन्धित सम्पूर्ण क्षेत्रको विकास, बजारीकरण र विस्तारका लागि महत्वपूर्ण भुमिका निर्वाह गर्ने वाडा अध्यक्ष कोइरालाले बताए । प्रदर्शनीले स्थानीय रुपमा देखिने वा महसुस गरिने विभिन्न व्यावसायिक समस्याहरूको चिनारी गर्ने तथा त्यसका सामाधानका विकल्पहरु खोज्ने साझा थलो बन्न सक्ने आयोजकहरूको विश्वास छ ।
प्रदर्शनीमा जिल्ला ट्राफिक प्रहरी कार्यालयको सहभागितामा सवारी साधन सुरक्षा सम्बन्धी जानकारी, सडक सुरक्षा तथा ट्राफिक नियम पालना सम्बन्धी विविध जानकारी मूलक कार्यक्रमहरू सञ्चालन गरिने छन । अटो सोमा बन्दिपुर केवुलकार एण्ड टुरिजम लि.ले डोर प्राइज अन्तर्गत ३ सय वटा केबुलकार टिकट उपलब्ध गराउने छ । प्रदर्शनी अवलोकन गर्न पुग्ने दर्शकहरूले टिकटमा गोलाप्रथाद्वारा सो केबुलकारको टिकट प्राप्त गर्न सक्नेछन् । ४ दिनसम्म चल्ने अटो शोलाई ३५ हजार दर्शकहरूले अवलोकन गर्ने आयोजकले बताएको छ ।

अटो प्रदर्शनीमा गण्डकी प्रदेश सरकार तथा पोखरा महानगरपालिका प्रबद्र्धक रहेका छन् भने पोखरा उद्योग वाणिज्य संघ, युनाइटेड क्लब पोखरा तथा प्रदर्शनीस्थल उपलब्ध गराई अमरसिंह मा.वि. सहयोगी संस्था बनेका छन् ।
प्रदर्शनीको टिकटिङ पार्टनरमा खल्ती एप, इन्टरनेट पार्टनरमा पोखरा इन्टरनेट, फायर सेफ्टी सपोर्टमा हिटको प्रा.लि., अफिसियल इन्सुरेन्समा सगरमाथा लुम्बिनी इन्सुरेन्स (सलिको), ट्राभल पार्टनरमा स्वीफ्ट होलिडेज, हस्पिटालिटी पार्टनरमा होटल शारा, हस्पिटल पार्टनरमा नेपाल मनिपाल कलेज अफ मेडिकल साइनस (मनिपाल हस्पिटल), इन्सुरेन्स पार्टनरमा नेपाल इन्सुरेन्स लि. जस्ता प्रतिष्ठित संस्थाहरू रहेका छन् भने प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेज (जेम्स)ले गरिरहेको छ ।

15Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected