23Shares

पोखरा । पोखरामा पहिलोपटक ‘अटो शो’ मेला सुरू भएको छ । अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को प्रस्तुतिमा नाडा कै सदस्य संस्था पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएसन (वाडा)ले पहिलोपटक पोखरामा अटो शो मेलाको गरेको हो ।

मेलाको उद्घाटन ग़र्दै कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले नाडाले केन्द्रीकृत सोचबाट मुक्त भई पोखरामा कार्यक्रम आयोजना गरेकोमा धन्यवाद व्यक्त गरे । उनले गत बर्ष चैतमा पोखरा भ्रमण बर्ष घोषणा गरेकाले यसमा वाडा अटो शोको भुमिका उल्लेख्य हुने बताए । आचार्यले सवारीसाधन सबैलाई आवश्यक छ राम्रो सहरलाई अझै चाहिने कुरा भएको बताए ।

सरकारले नीतिगत स्थिरता कायम गर्ने हो भने अटो व्यवसाय राम्रो हुने प्रमुख आचार्यले बताए। वाडा अटो शोले उपभोक्तालाई एकै ठाउँमा सबै ब्रान्डका सवारी हेर्ने र खरिद गर्ने अवसर दिएको पनि आचार्यले बताए।

कार्यक्रमका विशिष्ट अतिथि अटोमोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले धेरै पहिलेदेखिको प्रयासकाबीच पहिलो पटक केन्द्र भन्दा बाहिर अटो शो भएको र त्यसमा वाडाले लिएको अग्रसरताकै कारण हुन सम्भव भएको बताए।

उनले अटो शोको पर्वको रूपमा स्थापित भएको, अर्थतन्त्रलाई चलायमान बनाउने र सरकारलाई राम्रो राजस्व दिने क्षेत्रका रूपमा रहेको चौधरीले उल्लेख गरे। केन्द्रमात्र होइन क्षेत्रीय स्तरमा वार्षिक रूपमा गर्दै जानुपर्ने बताए।

अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) निवर्तमान अध्यक्ष एवं वाडाका पूर्व अध्यक्ष धुर्व बहादुर थापाले सरकारको मौद्रिक नीतिका कारण अटोमोवाइल क्षेत्रलाई समस्या परेको बताए  सरकारले अटो मोवाइल क्षेत्रलाई अत्यावश्यक साधनका रूपमा लिनु पर्नेमा विलासिताका साधनको रूपमा हेरेकोमा आपत्ति जनाउदै बिरगंजमा उत्पादन बस्तु काठमांडौं पोखरा ल्याउन पनि अटोमोवाइल आवश्यक यसलाई अत्यावश्यक साधनलाई पनि सरकारले विलासिताका साधनमा राख्न नहुने तर्क गरेका थिए ।

वाडाका अध्यक्ष दिपेन्द्र कोइरालाका अनुसार अर्थतन्त्रमा राजस्व संकलन र रोजगारी सृजनाका लागि विषेश योगदान गर्दै आइरहेको सवारी साधन क्षेत्रमा संलग्न उद्योगी, व्यवसायी, कर्मचारी एवं आम उपभोक्ताहरूलाई यस नाडा प्रिजेन्ट्स् वाडा अटो शो २०२५ ले सकारात्मक उर्जा एवं नवीनतम् प्रविधिहरूको साक्षात्कार गराउने अपेक्षा राखेका छन्। अहिले कयौँ डिलरहरू समस्यामा रहेकाले यो वाडा अटो शोले उनीहरूमा आशा जगाउने अपेक्षा राखेको उनको भनाइ छ।

बिहीबारदेखि सुरु भएको वाडा अटो शो १७ गतेसम्म संचालन हुनेछ । ‘नाडा प्रिजेन्ट्स् वाडा अटो शो २०२५’ घोषणा गरेर नाडाले पहिलोपटक काठमाडौं बाहिर अटो शो गरेको हो।

यो वर्षको वाडा अटो शोमा ७ वटा दुईपांग्रे ब्रान्ड, ६ वटा विद्युतीय लाइट कमर्सियल सवारी ब्रान्ड र १९ वटा चारपांग्रे ब्रान्डले सहभागिता जनाएको वाडाका उपाध्यक्ष एवं कार्यक्रमका संयोजक निरन केसीले बताए ।

उनका अनुसार वाडा अटो शोमा सहभागी दुईपांग्रे ब्रान्डमा ट्रायम्फ, सुजुकी, रोयल इनफिल्ड, टीभीएस, एथर, यामाहा र बजाज रहेका छन्। दुईपांग्रेमा विद्युतीय सवारी ब्रान्ड एथरमात्रै रहेको छ।

यता चारपांग्रेतर्फ भने विद्युतीय सवारी ब्रान्डकै बाहुल्यता रहेको छ। चार पांग्रेतर्फ हुन्डाई, दिपल, स्काइवेल, ओमोडा/जेइको, निसान/जीकर, लिपमोटर्स/सिट्रोन, महिन्द्रा, सुजुकी, एमजी, एलईभी, टोयोटा, नामी, किया, इसुजु, केई, टाटालगायत ब्रान्ड रहेका छन्।

त्यस्तै लाइट कमर्सिलय विद्युतीय सवारीतर्फ पाँच ब्रान्डको सहभागिता रहेको छ। लाइट कमर्सियलतर्फ हाइगर, न्यू गोनाओ, स्काइवर्थ, डोङफेङ र कामा ब्रान्डका सवारी वाडा अटो शोमा प्रदर्शनीमा राखिएका छन्।

यसैगरी २५ वटा सवारी पार्टपुर्जाका ब्रान्डहरुले सहभागिता जनाएका छन् भने ३ वटा बैंक र बीमा कम्पनी र एउटा रिकन्डिसन कम्पनी पनि वाडामा रहेका छन्।

23Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected