पोखरा । मादी गाउँपालिका वडा नं १ र माछापुच्छ्रे गाउँपालिका वडा नं २ को संगमस्थल ताराहिल टप क्षेत्र पर्यटकहरूको सेवा सुविधाको लागि क्याम्पिङ साईटको सुरूवात गरिएको छ ।
माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीन बहादुर गुरुङ, उपाध्यक्ष सीता अधिकारी, मादी १ का वडाध्यक्ष देवीजंग गुरुङ, माछापुच्छ्रे २ का वडाध्यक्ष गणेश आचार्य लगायतले उक्त क्याम्पिङ साईटको संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

नेपालकै पहिलो पर्या- पर्यटन पदमार्गको रुपमा परिचित घलेखर्क सिक्लेस पर्या- पर्यटन पदमार्ग वि.स २०५१ सालदेखी २०५९ सालसम्म अति व्यस्त ताराहिल टप क्याम्पिङ पर्यटकीय क्षेत्रको रुपमा रहेता पनि पछिल्लो समय सुस्ताएको यो पदमार्ग पुनः संचालन गरि पर्यटकहरूको रोजाइमा पार्ने अभियानमा जुट्न थालेको हो ।


अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने यस क्षेत्रमा मादी १ र माछापुच्छ्रे २ का वडाध्यक्षहरू देवीजंग गुरुङ, गणेश आचार्यको उपस्थितिमा एक्याप प्रधान कार्यालयबाट ताराहिल टप क्याम्पसाईट व्यवस्थापन संयुक्त उप समिति मादी १ र माछापुच्छ्रे २ लाई क्याम्प साईट व्यवस्थापनको लागि १ बर्षे स्वीकृत अनुमती दिएको हो । उपसमितिले वार्षिक रुपमा नवीकरण गर्नुपर्ने हुन्छ ।

उप- समितिले एक्याप र स्थानीय तहले तोकिएका कार्यभित्र रही वार्षिक रूपमा एक्याप कार्यालयलाई जग्गा भाडा शुल्क र सम्वन्धित गाउँपालिका दर्ता शुल्क तिरि नवीकरण गर्नुपर्ने हुन्छ ।
यसैवीच नयाँ वर्षको दिन ताराहिल टप क्षेत्रमा निर्माण गरिएको माछापुच्छ्रे २ र मादी १ का दुईवटा क्याम्पिङ साईटको लागि निर्मित अस्थायी संरचनालाई उद्घाटन गरिएको छ ।
उपसमितिका अध्यक्ष पान बहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा माछापुच्छ्रे र मादीका जनप्रतिनिधि, एक्याप प्रधान कार्यालयका वरिष्ठ संरक्षण अधिकृत बाबुलाल तिरुवा, रामजी आचार्य, ईलाका कार्यालय सिक्लेसका प्रमुख संग्राम कार्की, ईलाका कार्यालय ल्वाङका प्रमुख लेखनाथ गौतम र उपसमितिका कार्यसमिति लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
साथै माछापुच्छ्रे र मादी गाउँपालिका बीचको समन्वयात्मक वैठकले ताराहिल टप क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि दुईटा गाउँपालिका र एक्याप त्रिपक्षिय रूपमा समन्वय गर्नेगरी थप कार्यहरू गर्ने निर्णय भएको छ ।
ताराहिल टप मादी १ को सिक्लेस, पार्चे, खिलाङ, मादी ६ को चिप्ली र तप्राङ यसैगरी मादी ७ को थाकहिलबाट सजिलै पुग्न सकिन्छ ।




