पोखरा । नयाँ वर्ष २०८२ को अवसरमा महेन्द्रपुल स्थित अन्तर्राष्ट्रिय झण्डापार्कमा झन्डोत्तोलन गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नेपालको राष्ट्रिय झन्डा झन्डोत्तोलन गरेका हुन् ।
सो अवसरमा उनले सहकार्य, समझदारी र साझा सपना बोकेर अघि सँगै बढ्न आह्वान समेत गरेका छन्। नगर प्रमुख आचार्यले वर्ष २०८२ मा सबै योजनाहरू समयमा नै सुरु हुने र तोकिएको समयमा नै सम्पन्न हुने विश्वास समेत व्यक्त गरेका छन् ।

समयको यथार्थ र संस्कृतिको सम्मान गर्दै तोकिएको घडीमै आरम्भ भएका कर्ममार्गले व्यक्तिलाई कर्तव्य, अनुशासन र आशाको सन्देश दिने उनले बताए । साझा उद्देश्य प्राप्तिका लागि समृद्धिको शिखरसम्म सँगै यात्रा गर्न उनले आग्रह गरे ।


कार्यक्रममा पोखरा महानगरपालिका वडा नं.९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानी लगायत जनप्रतिनिधि र कर्मचारीहरूको सहभागिता रहेको थियो ।

महेन्द्रपुलमा पत्रिका कर्नर सहित संयुक्त राष्ट्र संघमा आवद्ध १९३ राष्ट्रको झण्डा सहितको अन्तर्राष्ट्रिय झण्डा पार्क, क्याफे सहितको अत्याधुनिक शौचालय, सुन्दर पार्क र सांस्कृतिक महत्त्व बोकेको फल्चा निर्माण भएका छन् ।
लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आइ, जे, के, एल र एमको सहयोगमा उक्त पार्क निर्माण भएको अन्तर्राष्ट्रिय झण्डा पार्क निर्माणमा लायन्स डिष्ट्रिक्टबाट झण्डै ७० लाखसहित ८० लाख रुपैयाँ खर्च भएको थियो ।




