बिग्रदो राजनिती र सनातनी आन्दोलन

नेपाल सनातनकालदेखि नै वैदिक सनातन धर्ममा आधारित सामाजिक व्यवस्था भएको देश हो। जीवनलाई सफल र चरित्रलाई नैतिकवान बनाउन आधुनिक कानुनभन्दा पनि परिपक्क हाम्रो सामाजिक मूल्य र मान्यताहरु छन् जुन हाम्रा पिता पुर्खाबाट संस्कारका रुपमा पुस्तान्तरण हुँदै आएको छ। भगवानप्रतिको भरोसा र आस्तिक नेपाली समाज प्रकृति र जीवनलाई उच्च तहबाट व्यवस्थापन गर्दै आएको छ ।

योग ध्यान साधनाबाट स्वस्थ र तन्दुरुस्त अनि गौ तथा पशुपालन र वैदिक एवं जैविक कृषिलाई अर्थतन्त्रको मुख्य आधार मानी शिक्षा र विकासको माध्यमबाट विश्वको नेतृत्व गरेको र गर्न सक्ने चेतना हामीलाई धर्म संस्कृति परम्पराले दिएको छ । विश्व बन्धुत्वको भावना नै हाम्रो मूल मन्त्र वा सिद्धान्त हो भने विश्व शान्ति र सुख नै हाम्रो लक्ष्य हो। वेद पुराण र अनेक वैदिक शास्त्रहरूको ज्ञानबाट विश्वको गुरुराष्ट्र बन्न सक्ने सम्भावना भयको हाम्रो संस्कृति र सभ्यता विश्वको सबैभन्दा पुरानो र आधुनिक सभ्यता हो।

संयुक्त परिवारमा आधारित हाम्रो समाज गोरक्ष साम्यवादको सूत्रधार पनि हो। हाम्रो ज्ञान विज्ञान र चेतना जो वेद पुराण जस्ता शास्त्रहरुबाट प्राप्त छ त्यसैबाट निर्देशित शासन व्यवस्था नै हाम्रो मौलिक शासन व्यवस्था हो। शिक्षाको स्रोत गुरुकुल विद्यापीठ बन्नुपर्छ भन्ने वेदद्वारा प्रतिपादित जीवन सिद्धान्त नै हाम्रो मुख्य सिद्धान्तका रुपमा विकास हुँदै आएको छ। देश आमा हुन् भने धर्म परम्परा वैदिक संस्कृति पूर्वीय दर्शन हाम्रो पहिचान हुन् यिनै मूल्य र मान्यतालाई रक्षा गर्नु नै हाम्रो सनातनी आन्दोलनको
मुल मर्म हो ।
विश्वको एक तिहाईभन्दा बढी जनसङ्ख्या रहेको हिमवत क्षेत्रको सबैभन्दा ऊर्जाशील शान्ति देश हो नेपाल । उत्पत्तिकालदेखि नै देवभूमिका रूपमा रहेको यो देश ऋषिमुनि देवताहरूबाट तपस्या साधना गरी संरक्षित गरिएको देश हो। आधुनिक नेपाल निर्माणमा विशुद्ध सनातनी हिन्दुहरुको रगत पसिना परेको छ आधुनिक विज्ञानले पनि जसको श्रम पसिना र लगानी परेको छ त्यो सम्पत्ति उसैको हो भन्ने मान्यता राख्छ कानुनी होस् या वैज्ञानिक मान्यता दुवै मान्यताबाट नेपाल देश मात्र सनातनीहरूको सम्पत्ति भएको तथ्य प्रमाणित गर्दछ। त्यसैले नेपाल वैदिक सनातन हिन्दु राष्ट्र थियो छ र रहिरहनेछ भन्ने हाम्रो मान्यता हो ।
स्वधर्म मौलिक परम्परा रक्षा गर्नु राष्ट्र र नागरिक दुवैको कर्तव्य हो त्यही कर्तव्यको पालना नै सनातन आन्दोलनको जग हो। एकातिर ८१% हिन्दुहरूको जनसङ्ख्यालाई नजरअन्दाज गर्ने र अर्कोतर्फ हाम्रा पिता पुर्खाहरूको रगत पसिना र बलिदानको अवमूल्यन गर्दै धर्म निरपेक्षता लादिनु संवैधानिक त्रुटी मात्र होइन राजनीतिको अन्तर्राष्ट्रिय मान्यतालाई नकार्नु पनि हो ।
दुइतिहाइ भन्द बढी हिन्दु जनसङ्ख्या भएको देश जनमत संग्रह बिना डलर र युरोको लोभमा केही दलका नेताहरु बीचको सत्ता र स्वार्थपूर्ण षड्यन्त्रकारी सहमतिको नाउमा भएको जन अधिकारको अपहरणबाट जन्मिएको धर्म निरपेक्षता आम नेपालीले स्वीकार्नु नै पर्छ भन्ने छैन । त्यही जनविद्रोहको आवाजहरू हो सनातनी क्रान्ति वा आन्दोलन । इसाईको भोट र पैसाको लालचमा फसेका दलका नेताहरुले आफ्नो मूलधर्म र जरोकिलो बिर्सिनु बेइमानी मात्र होइन राष्ट्रघात पनि हो ।
यिनै तथ्य र गल्तीहरूका कारण आजको नेपालको राजनीति बिग्रिँदै गएको छ। नेताहरूमा राजनैतिक धर्म छैन। राष्ट्रियता नासिदै गएको छ र अहिलेको आवश्यकता भनेको लिकबाट बाहिरिएर दुर्घटनामा पुग्न लागेको राजनीतिलाई पूर्ववत लिकमा ल्याउने र सम्पत्तिको लागि संवेदना गुमाएको नेतृत्वलाई सच्याउनुपर्ने हो। “त्यसैले धर्मलाई मूल मन्त्र मानेर देशलाई शिरमा राखी जनतालाई मुटुमा राखी राष्ट्र निर्माणको बाटोमा लाग्ने हो भने वैदिक सनातन हिन्दु राष्ट्र नेपाललाई मूल मन्त्र बनाई अगाडि बढ्न जरुरी छ”।
अहिलेको देशको राजनीतिक परिदृश्यलाई सम्हाल्ने हो भने वैदिक सनातनीहरूको मनमा पुर्याएको चोटलाई मलाम लगाउँदै यही व्यवस्थामा प्रशस्त सम्भावनाहरू खोजी दलीय र राजनैतिक सहमतिमा संविधान संशोधन गरी वैदिक सनातन हिन्दु राष्ट्र कायम गर्न सके सम्भावित धार्मिक द्वन्द समयमै व्यवस्थापन गर्न सकिनेछ। गाउँ गाउँमा संगठित बन्दै गरेका हिन्दूवादीहरूलाई अझै पनि राजनैतिक दम्ब देखाउँदै नजरअन्दाज गर्ने हो भने त्यसबाट हुने विद्रोहले यो व्यवस्था नै परिवर्तन हुन सक्ने देखिन्छ दलका कार्यकर्ता बनाउँदा समय लाग्न सक्छ तर धार्मिक आस्थामा बाँधिएका हिन्दु धर्मालम्बीहरु संगठित भएर साँच्चिकै विद्रोहमा उत्रन बाध्य भए भने यो सरकार र व्यवस्था निमेश भरमै सकिने प्रष्ट देखिन्छ। विकल्पका रूपमा जनमत संग्रह पनि हामी हिन्दूवादीहरूलाई स्वीकार्य छ। त्यसतर्फ पनि दलहरुले सोच्ने कि ?
अहिलेको सनातनी आन्दोलनले व्यवस्था परिवर्तनको एजेन्डा बोकिसकेको छैन। सनातन हिन्दु राष्ट्रको मागलाई सरकारले दबाउँदै जाने हो भने हिन्दू राष्ट्रका पक्षदर समूहहरू एकत्रित हुँदै जाँदा व्यवस्था फालेर अगाडि बढ्ने सम्मको राष्ट्रिय सहमति बन्न सक्ने सम्भावना पनि उत्तिकै छ। देश र भूगोलको आवश्यकता भन्दा आयतित धर्मका दलालहरू खुसी पार्नका लागि ठूलो जनसङ्ख्याको उपेक्षा गर्दै जाने हो भने दलहरूको नजिक रहेका एक १% भन्दा कम जनसंख्यामा रहेका शक्तिलाई निस्तेज मात्र होइन निमिट्याम्म पार्न धेरै समय नलाग्ला, पछिल्लो समय धार्मिक एजेन्डामा युवाको रुचि बढ्दै जानुले पनि समयमै हिन्दुत्वको मुद्दा सम्बोधन हुन नसके नविन सिद्धान्तको प्रतिपादन हुँदै पुराना विचारका पार्टीहरूको अस्तित्व सङ्कटमा पर्ने देखिन्छ।
लेखक जय सनातन अभियान नेपाल का अध्यक्ष हुनुहुन्छ ।





