संस्कारयुक्त शिक्षाको अभावले संस्कारगत मूल्य मान्यता कम्जोर हुँदै गएको छ- माता हेमानन्द गिरीजी महाराज
- May 30, 2025
- 2088

पोखरा । प्रथम महिला जगतगुरु शंकराचार्य माता हेमानन्द गिरी महाराजले वर्तमान समयमा संस्कारयुक्त शिक्षाको अभावले गर्दा हाम्रा दर्शन, सभ्यता र संस्कारगत मूल्य मान्यता कम्जोर हुँदै गएको बताउनु भएको छ । बाबा फ़ाउण्डेशन नेपाल र नेपाल दशनामी समाज कास्कीको संयुक्त आयोजनामा पोखरा–२१, निर्मलपोखरीस्थित जनचेतन माविमा शिक्षा र संस्कारका लागि एक दिवसीय प्रवचन कार्यक्रममा अनन्त श्रीविभुषित प्रथम महिला जगतगुरु शंकराचार्य माता हेमानन्द गिरीजी महाराजले उक्त कुरा बताउनु भएको हो ।
शिक्षा र संस्कारका बारेमा प्रवचन दिदैं उहाँले वर्तमान समयमा संस्कारयुक्त शिक्षाको अभावले गर्दा हाम्रा दर्शन, सभ्यता र संस्ककारगत मूल्य मान्यता कम्जोर हुँदै गएको बताउदै हाम्रा संस्कारगत पहिचान र गौरवका धरोहर मानिने संस्कृति सूत्रहरु दिन प्रतिदिन क्षयीकरण हुँदै गएको धारणा व्यक्त गर्नुभएको हो ।
उहाँले समाजमा वौद्धिक र शिक्षित वर्गले संस्कार शिक्षाको क्रान्ति नै गर्नुपर्ने बेला आएको महशुस गर्दै ती प्राचीन तर वैज्ञानिक संस्कारका ज्ञान विज्ञानलाई आधुनिक संसारसँग जोडेर सरल र सहज शैलीमा बालबालिकाहरुको कलिलो मष्तिस्कमा संस्कारित गर्ने बेला आइसकेको बताउनु भयो ।

कार्यक्रममा संक्षिप्त मन्तव्य राख्दै पोखरा महानगरपालिका वडा नं.२१ का वडाध्यक्ष दिपक सुवेदीले शिक्षा र संस्कार एउटै रथका दुई पाङग्रा रहेको बताउनुभयो । शिक्षाको मूल उदेश्य भन्नु नै मानिसलाई असल, सफल र खुशीको संस्कार प्रदान गर्नु हो । अहिले समाजका प्रत्येक क्षेत्रमा रुपान्तरण चाहिएको छ, जुन रुपान्तरण एक्लो शिक्षाबाट सम्भव हुँदैन त्यो रुपान्तरण संस्कारयुक्त शिक्षाबाट आशावादी बन्न सकिने कुरामा सुबेदीको जोड़ थियो ।
बाबा फ़ाउण्डेशन नेपालका अध्यक्ष दिलीपराज श्रेष्ठले फ़ाउण्डेशन स्थापना गर्नुको उद्देश्य प्रष्टाउदै शिक्षा संस्कार कसरी समयानुकूल बनाउँदै लैजान सकिन्छ भन्ने अभिप्रायले विगत १७ बर्षदेख़ि बालबालिका र वातावरणको क्षेत्रमा काम गर्दै आएको बताउनु भयो । नेपाली समाजमा ज्ञान र सीप त छ तर बानी ब्यहोरा संस्कारहीन हुँदै गएको देखिन्छ, आचरणको रुपान्तरण हुन नसकेको अवस्था रहेको भनाई श्रेष्ठले राख्नु भयो ।
नेपाल दशनामी समाज कास्कीका अध्यक्ष भुपेन्द्र गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिधालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द गिरी, दशनामी समाज कास्कीका सल्लाहकार बाबुराम गिरी, समाजका सहसचिव श्रीघर गिरीलगाएतले बोलेका थिए ।

सो अवसरमा बाबा फ़ाउण्डेशन नेपालले सो बिधालयमा अध्ययनरत बिधार्थीहरूको शैक्षिक क्रियाकलापमा सहयोग पुगोस् भन्ने उद्देश्यले करिव १०० दर्जन कपिको साथमा आवश्यक मात्रामा कलम उपलब्ध गराएको थियो ।
त्यस्तै वातावरण संरक्षणलाई मध्यनजर गर्दै फ़ाउण्डेशनले कुहिने, नकुहिने र सिसा जन्य बस्तु व्यवस्थापनका लागि ६ थान डस्विनसमेत उपलब्ध गराएको थियो । सामग्रीहरू बिधालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द गिरी र बिधालयका प्रधानाध्यापक अर्जुन पौडेललाई फ़ाउण्डेशनका अध्यक्ष दिलीपराज श्रेष्ठले हस्तान्तरण गर्नु भएको थियो ।








