
पोखरा । बाबा फ़ाउण्डेशन नेपालद्वारा पोखरा–८, स्थित श्रीराम आधारभूत बिधालयमा शिक्षा र संस्कारका लागि एक दिवसीय प्रवचन कार्यक्रम सम्पन्न गरेको छ ।

सो अवसरमा फ़ाउण्डेशनले बिधालयमा अध्ययनरत बिधार्थीको पढ़न पाठनमा सहयोग पुर्र्याउनका लागि करिव १०० दर्जन कपी, सोही मात्रामा कलमसमेत उपलब्ध गराएको छ । साथै विश्व वातावरण दिवसको अवसरमा फ़ाउण्डेशनले वातावरण संरक्षणलाई लक्षित गर्दै बिधालयलाई वातावरण मैत्री बिरुवा र तीन थान डस्विन हस्तान्तरण गरेको छ ।
फ़ाउण्डेशनका अध्यक्ष दिलीपराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ब्रह्माकुमारी अप्सरा दिदीले शिक्षा र संस्कारका बारेमा प्रवचन दिदैं विद्यार्थी जीवनमा अनुशासित, परिश्रमी, जिज्ञासु र समयसापेक्ष बन्न सिकाउने मूल मन्त्र शिक्षा र संस्कार रहेको बताईन् । त्यसमा अनुशासनको स्थान अत्यन्त महत्वपूर्ण रहेको कुरामा जोड दिईन् ।
उनले वर्तमान समयमा संस्कारयुक्त शिक्षाको अभावले गर्दा हाम्रा दर्शन, सभ्यता र संस्ककारगत मूल्य मान्यता कम्जोर हुँदै गएको बताउदै हाम्रा संस्कारगत पहिचान र गौरवका धरोहर मानिने संस्कृति सूत्रहरु दिन प्रतिदिन क्षयीकरण हुँदै गएको पनि बताईन्।
उनले भनिन्, ज्ञान प्राप्त गर्न विद्यालय वा शैक्षिक संस्था जाने व्यक्तिलाई विद्यार्थी भनिन्छ भने उसले ज्ञान सिक्न लागेको समयलाई विद्यार्थी जीवन भनेर बुझ्न सकिने भनाई राख्दै जीवन र अनुशासनका बिच घनिष्ट सम्बन्ध कायम गर्न सकेमा मात्र विद्यार्थीको भविष्य सफल र पूर्ण बन्न सक्छ ।
अध्यक्षताको आशनबाट बोल्दै अध्यक्ष श्रेष्ठले विद्यार्थीका लागि अनुशासन नभई नहुने कुरा हो । अनुशासनले नै विद्यार्थीको चारित्रिक गुणको विकास गर्ने बताउदै नियम र मर्यादामा रहेर अगाडि बढ्नु अनुशासन रहेको बताए ।
जीवनमा जो व्यावहारिक नियम तथा मर्यादालाई पालना गरेर अगाडि बढ्छ उसले सफलता हासिल गर्न सक्छ, जुन विद्यार्थी अनुशासित छ उसैले मात्र आफूले पढेको विद्यालाई व्यवहारमा उतार्न सक्छ र उस्को व्यवहारले, घरपरिवार, छरछिमेक र समाजलाई समेत प्रभाव पार्ने भनाई श्रेष्ठको रहेको थियो ।
बिधालयका शिक्षक श्रीधर गिरीको संचालन रहेको कार्यक्रममा जनप्रतिनिधि गोविन्द बराल, बिधालय ब्यावस्थापन समितिका अध्यक्ष मुक्तिनाथ चालिसे, बिधालयका प्रधानाध्यापक तिर्थराज न्यौपानेलगाएतले बिधार्थी जिवनमा शिक्षा र संस्कारले पार्ने दीर्घकालीन प्रभावका बारेमा आ–आफ्नो भनाई राखेका थिए ।











