3Shares

नवलपुर । चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत गुन्द्रही ढाकाह, नमुना, शान्तिकुञ्ज र कृष्णसार मध्यवर्ती क्षेत्र आसपासमा कार्यरत ४० जना नेचर गाइडहरूका लागि नवलपुरमा तीनदिने पन्क्षी पहिचान, अवलोकन र दिगो पन्क्षी पर्यटनसम्बन्धी तालिम सम्पन्न भएको छ ।

पोखरा पन्क्षी समाजको आयोजना, नेपाल पर्यटन बोर्डको सहयोग तथा नेचर गाइड एसोसिएसन नवलपुरको सहकार्यमा असार ८, ९ र १० गते थारु सामुदायिक लज गदार, नवलपुरमा तालिम सञ्चालन गरिएको थियो ।

तीनदिने तालिमको क्रममा नेपाल पन्क्षीविद् संघका अध्यक्ष एवम् चराविद् हठन चौधरी, बड्र्स नेपालका कार्यकारी निर्देशक सिजन ज्ञवाली, पोखरा पन्क्षी समाजका अध्यक्ष मनशान्त घिमिरे, सचिव हेमन्त ढकाल, हिमालयन ट्रेल्सका कार्यकारी निर्देशक गोपी श्रेष्ठ, नेपाल नेचर ट्रेक्सका कार्यकारी निर्देशक राजेन्द्र गुरुङ, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका वरिष्ठ अधिकृत युवराज गुरुङ, नेपाल पन्क्षीविद् संघका कार्यकारी निर्देशक लक्ष्मणप्रसाद पौड्याल लगायत प्रशिक्षकहरूले सहभागीहरूलाई सैद्धान्तिक ज्ञानका साथै स्थलगत रुपमा प्रयोगात्मक कक्षाहरू समेत सञ्चालन गरिएको थियो ।

तालिमका समापनका क्रममा चितवन राष्ट्रिय निकुञ्जका बरिष्ठ संरक्षण अधिकृत डा. गणेश पन्त लगायतले सहभागीलाई प्रमाणपत्र प्रदान वितरण गरेका थिए ।

पोखरा पन्क्षी समाजका अध्यक्ष मनशान्त घिमिरेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका बरिष्ठ संरक्षण अधिकृत पन्त सहित डिभिजन बन कार्यालय नवलपुरका प्रमुख वसन्त केशव अधिकारी, निकुञ्ज सुरक्षार्थ खटिएको नयाँ गोरखगणका गणपति प्रमुख सेनानी शिवराम बस्न्यात, नेपाल पर्यटन बोर्ड पोखराका वरिष्ठ अधिकृत युवराज गुरुङ, नेचर गाइड एसोसिएसन नवलपुरका अध्यक्ष लालबहादुर बोटे, नेपाल पक्षीविद् संघका कार्यकारी निर्देशक एवं वेटल्याण्ड इन्टरनेशनल एशियन वाटर बर्ड सेन्ससका नेपाल संयोजक लक्ष्मणप्रसाद पौड्याल, जटायु रेष्टुरेन्ट समितिका पिठौलीका संयोजक धनबहादुर चौधरी, नेपाल पक्षी संरक्षण संघका पूर्व अध्यक्ष राजेन्द्र गुरुङ, अमलटारी उपभोक्ता समितिका अध्यक्ष केदारनाथ घिमिरे लगायतले यस्ता कार्यक्रमले रोजगारीका अवसरहरू सिर्जना गर्ने, स्थानीयको सीप र ज्ञानमा विकास हुने र समग्रमा संरक्षणमा टेवा पुग्नेमा जोड दिएका थिए ।

पछिल्ला वर्षहरूमा चरा पर्यटन (चराहरूको अवलोकन र अध्ययनका लागि गरिने यात्रा) को आकर्षण दिन प्रतिदिन बढ्दै गएको छ । चितवन राष्ट्रिय निकुञ्जको काखमा अवस्थित नवलपुर चरा पर्यटनको प्रचुर सम्भावना बोकेको एक महत्वपूर्ण गन्तव्य हो । तालिमले नवलपुरलाई चरा पर्यटनको केन्द्रका रूपमा विकास गर्न थप सहयोग पुग्ने विश्वास गरिएको छ ।

3Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected