30Shares

युवराज खनाल, शुक्ला-१, तनहुँ । जति पढेलेखेकालाई थाहा हुन्छ, त्यो भन्दा बढी त परेकोलाई थाहा हुन्छ । भोकाको पीडा जिनतीन दुई छाक टार्न सक्ने लाई पनि त्यही थाहा नहोला जति भोकले खनखनी पेट खाएर पटुकीले पेट कसेर बस्नु पर्ने परिस्थितिका मानिसहरू छन । यस्तै छ हाम्रो देश र यहाँको सस्कार । कयौ मानिसहरु २ छाक टार्न नसक्ने छ्न, कयौं बर्ष भरी काम गरेर ६ मैनालाई खाना नपुग्ने छ्न । मीठो मसिनो त धेरै टाढाको कुरा भयो । एक सरो लाउन कति कठिन छ । बिरामी पर्दा औसधि उपचार छैन । पानी पर्दा चुहिने छानो त्यसा टालटुल पार्न भुस राखेको घर गोठ मुनि यता उति सर्दै सुत्न बिबश छ्न ।
भोको पेटले त भात र आलु उच्चारण गर्छ । तर राजनीतिका दिग्गजहरूले आफू र आफ्ना सन्तानलाई चाहिँ पेटभरी खुवाउँछन् । आनन्दपूर्वक सुरक्षित ठाउँमा राख्छन् र अरूका छोराछोरीहरूलाई चाहिँ नारा र जुलुस लगाउन उक्साउँछन् । चाहे प्रजातान्त्रिक आन्दोलनमा होस चाहे अरु आन्दोलन किन नहोस आहुती दिने ती भोका पेटका सहिदहरुलाई सलाम छ ।
नेताहरूलाई साधारणजनको माया छैन । प्रायः कुनै पनि पेसामा लागेका मानिसहरूले आफ्ना छोराछोरीले आफ्नो बिँडो थामून् भन्ने चाहन्छन् । किसानले आफ्ना छोराछोरी झन् ठूलो किसान बनून् भन्ने चाहन्छन् । शिक्षकले आफ्ना सन्तान आफूभन्दा बढी पढेर राम्रा शिक्षक बनून् भन्ने चाहन्छन् । लेखक र डाक्टरहरूले पनि प्रायः त्यस्तै चाहन्छन् ।
तर, एउटा स्मगलरले चाहिँ आफ्ना सन्तानलाई आफूले गरेको कालो कामका बारेमा थाहा नहोस् भन्ठान्छ । अरूलाई बिष हालेको रक्सी खुवाएर मार्ने व्यापारी पनि आफ्नो सन्तानले चाहिँ रक्सी नखाओस् भन्ने ठान्छ । तर, अरूको सन्तानलाई कालो धन्दामा लगाउन र अरूका सन्तानलाई रक्सी खुवाउन व्यापारीलाई केही पनि लाग्दैन । त्यस्तै प्रकारले आफ्ना सन्तानलाई राम्रो स्कुलमा पढेर विदेश जाऊन् र कमाऊन्, आफूचाहिँ सांसद र मन्त्री बनेर अरूका सन्तानलाई पछि लगाएर हिँडूँ भन्ने हाम्रा नेताजीको विचार हुन्छ । कसैले आफ्नो सन्तानलाई राजनीतिमा ल्याउन खोजे भने पनि एकैचोटि देशको ठूलो र चर्चित भएर मन्त्री र सांसद भइहालोस् भन्ने विचार हुन्छ, चाहे त्यसका लागि आफूले जुनसुकै आलोचना खप्न किन नपरोस् ।
धृतराष्टले दुर्योधनका कुकृत्यमा आँखा चिम्लेझैँ हाम्रा नेताजी आफ्ना सन्तानका कुकृत्यमा आँखा चिम्लिन्छन् । अरूका सन्तानहरूलाई भाला, लाठी, बन्दुक, जेल हान्न पनि पछि पर्दैनन् । राजनीतिमा लागेपछि ती बिचरा अरूका सन्तानलाई आसेपासे बनाएर आफ्ना सन्तानलाई अघोषित युवराज वा युवराज्ञी बनाउनमा नेताजीहरू पोख्त हुन्छन् । आफ्ना सन्तानलाई पेटभरी भात खुवाएर नरम गद्दामा सुताउने नेताजीहरू अरूका सन्तानलाई ‘लठ्ठी, भाला, बन्दुक उठाऊ’ भनेर आज्ञा दिन्छन् । अहिलेसम्मको देशको राजनीतिमा यति धेरै मानिस मरे, गोली लागेर घाइते भए, कति अचेत छन् अझै र सहारा खोज्दै छन् । तर, अहिलेसम्म हाम्रा कुनै नेताजीका सन्तान मरे, घाइते भए, अचेत भए, गोली लागेर सहारा खोज्दै छन् भन्ने सुन्नमा आएका छन् ? यदि कोही अचेत हुन्छ भने उच्चस्तरको मदिरा पिएर अचेत हुन्छ । हामीले यी कुरामा किन सोचेका छैनौ । कलिला मस्तिष्क भएका गाउँघरबाट आएका जनताका छोराछोरीहरूले चाहिँ नेताजीले भनेको कुरा ठीक हो भनेर पालना गर्छन् । उनीहरूलाई भविष्य देखाइएको हुन्छ । २०४६ सालमा विद्यार्थी आन्दोलनमा लागेका कतिपय विद्यार्थीहरू अहिले परिवारको पेट पाल्न विदेशमा गोठालो गएका छन् । विदेशमा गएर काम गर्नलाई नराम्रो र गोठालो काम सानो भनेको होइन, तर कुनै पनि नेताजीहरूका छोराछोरीचाहिँ गोठालो बनेर शारीरिक काम गर्न गएका छैनन् भनेको मात्र हो । नेताजीका छोराछोरीहरू विदेश गएका त उतै बस्ने, पढ्न र सयर गर्न हो । तर, यहाँबाट अहिले पनि विद्यार्थी चुनावमा होमिएका र आफ्नाआफ्ना पार्टीको झण्डा उठाएर अरूलाई मार्न तयार रहेका विद्यार्थीहरू अबको ५ वर्षपछि जब बेरोजगारको श्रेणीमा परेर ‘अब जीवन कसरी धान्ने हो ?’ भन्ने मनन् गर्लान्, तब अहिले उक्साउने नेताले के उनीहरूको पेट भरिदेलान् ? उनीहरूले भन्लान्, ‘तपाईंहरू देशका नेता बन्नुहुनेछ । सांसद हुनुहुनेछ, मन्त्री बनेर फरफर झण्डा फहराएर हिँड्नुहुनेछ ।’‘त्यसो भए तपाईंले पनि आफ्ना छोराछोरीलाई ल्याएर हामीसँग राख्नुहोस् नत, हामीसँगै लठ्ठी लिएर धक्कामुक्की गर्न पठाउनुहोस् न त ?’, भन्नुहोस् त के भन्लान् नेताजीले । सांसद, मन्त्री बन्ने त लाखमा एक हुन्छ । यतिका विद्यार्थीहरू सबै सांसद बन्लान् त ? पक्कै बन्दैनन् । ९५ प्रतिशत विद्यार्थीहरूले भोको पेट लिएर सोचेको छ– मैले के पाएँ त विद्यार्थी जीवनमा ?’ उत्तर देलान् त नेताजीले ।
बि पि भन्नुहुन्थ्यो , जनताको अधिकारको अपहरणले राजनीतिमा दमनको रूप लिन्छ र त्यसले आर्थिक क्षेत्रमा शोषणको रूप लिन्छ। अर्थात् आर्थिक क्षेत्रमा भइरहेको शोषणको अन्त्य गर्न राजनैतिक अधिकार नभएको ठाउँमा सकिदैन; किनभने कसैले पनि शोषणका विरूध्द आवाज उठाउन राजनीतिक अधिकार हुनुपर्छ। जबसम्म अन्यायका विरूध्द लड्ने अधिकार कुण्ठित रहन्छ तबसम्म दमन कायम रहिरहन्छ। तर किन यस्ता कुरा दोहोरीरहेको छ ।
अधिकास हामी नेपाली गरिव छौ । गरिबी हुनुका कारण – गरिबी सामाजिक अर्थव्यवस्थको संरचना , श्रोत साधन वितरणको अवस्था, गलत निर्णय तथा नीतिहरुका उपज हुन् । कमजोर शासकीय प्रणाली, न्यून सामाजिक-आर्थिक पूर्वाधार, श्रोत साधनको असमान वितरण जस्ता कारणहरुले श्रोत साधन अवसर तथा पहुँच विहिनताको अवस्थामा पुर्याउँछ जुन अवस्था गरिबीको अवस्था हो ।एकात्मक साशकीय संरचना, श्रोत साधन तथा अवसरहरुको असमान वितरण,बेरोजगारी, कमजोर शैक्षिक अवस्था,परिवारको आकार तथा प्रकार,न्यून मानव विकास,कमजोर पूर्वाधार विकास,भ्रष्टाचार, सामाजिक असमानता पनि हुन । बिगत देखि सरकारले गरिबी न्यूनीकरण गर्न बिबिध कार्यक्रम त ल्याएका छ्न , वैदेशिक सहयोग पनि प्रसस्त नआएका पनि हैनन तै पनि नेपालमा गरिबी घट्न नसक्नुका कारणहरुः नेपालमा आठौँ योजना अवधिबाट गरिबी निवारणले राष्ट्रिय प्राथमिकता पाउन थालेको भएतापनि गरिबी न्यूनिकरण हुन नसकेको अवस्था छ ।गरिबी न्यूनिकरणका क्षेत्रमा विगत दुई दशक भन्दा लामो अवधीमा विभिन्न प्रयास भइरहेतापनि चालु पन्ध्रौँ योजनासम्म आइपुग्दा पनि गरिबी १८.७ प्रतिशत कायम रहनु, आय असमानता कायम रहनु तथा बहुआयमिक गरिबी २८.६ प्रतिशत रहनुले गरिबी न्यूनिकरण तथा निवारणका क्षेत्रमा सफलता हासिल गर्न नसकिएको तथ्य पुष्टी गर्दछ । गरिबी न्यूनिकरण हुन नसक्नुका प्रमुख कारण तथा समस्याहरुलाई देहाय अनुसार उल्लेख गर्न सकिन्छ केन्द्रीकृत तथा एकात्मक राज्य प्रणाली,नेपालको विशिष्टता सुहाउँदो स्पष्ट, सान्दर्भिक गरिबी निवारण नितिको अभाव,वास्तविक गरिब पहिचान हुन नसक्नु, गरिब लक्षित कार्यक्रम क्षमता विकास भन्दा वितरणमुखी हुनु,गरिबी निवरण सम्बन्धित कार्यक्रमहरुबीच समन्वयको अभाव,राज्यका आधारभूत सेवा सुविधाहरुमा सबैको सरल र सहज पहुँच हुन नसक्नु,विकासका पूर्वाधारहरुको पर्याप्त विकास हुन नसक्नु,
निर्वाहमुखी कृषि प्रणाली हुन ।
देश यस्तो परिस्थितिमा हुदाहुदै पनि किन सोच बिचारमा परिवर्तन आउन सकेको छैन । २०४६ सालपछि बहुदलीय ब्यबस्थाको पुनःस्थापन पश्चात् नेपाली काङ्ग्रेस , नेकपा एमाले , माओवादीले सरकारको नेतृत्व गरे तर किन सोचिएन गरिबी र ती भोका पेटहरुको बेदना । जति बजेट आउछ्न प्रथम त शक्तिशाली ब्यक्तिहरुको सेवा सुबिधामा छुट्टीन्छ्न । अनि बिरोधका आवाज उठछ्न भनेर कर्मचारी शिक्षकहरुको तलबभत्तामा जान्छ्न खै ती भोका पेट र गरिबीलाई के आउछ्न ।
देश भन्नुहोस चाहे राष्ट्र भन्नुहोस—त्यो भूगोल होइन, त्यो माटो होइन, त्यो यथार्थमा जनता हो। जुन कुराले जनताको हित हुन्छ त्यही कुरो देश हितको कुरो हो। जनताको अधिकार हनन् देशको अधिकार हनन् हो तर किन यी कुरा समझमा आएका छैनन् ।
बि पि ले भन्नू भएको थियो । नेपाल भनेको नेपालका ती गरीब जनता हुन्; जसको आङमा फाटेको र मैलो लुगा छ। टाउकोमा घेरा मात्र भएको टोपी छ। बिरामी परे ओखती-मूलो पाउँदैनन्। आफ्ना छोरा-छोरीलाई शिक्षा-दिक्षाको प्रबन्ध गर्न सक्तैनन्। जसलाई बिहान खाए बेलुका के खाउँ र बेलुका खाए बिहान के खाउँ भन्ने समस्या छ। तीनै गरिभ किसानको देश हो—नेपाल। ठूला-ठूला महलमा बस्ने र मोटरमा हिँड्ने त यहाँ १० प्रतिशत पनि छैनन्। तिनीहरू नेपाल होइनन्। यी त आधारभुत कुरा हुन नि जो सुकै सरकारमा आए पनि किन यस्ता कुरामा सोच परिवर्तन आएको छैन ।
बिकास बजेट छुट्टाइन्छ , घटीघटाउमा ठेका पट्टा हुन्छ , मन्त्री, सचीव , इन्जिनियर , लेखापाल लगाएत त्यस क्षेत्रमा संबंधित अन्य कर्मचारी , गुण्डालाई कमिसन छुट्टाएर ठेकेदारले फाइदा पनि लिनु छ अनि कसरी गुणस्तरीय हुन्छ्न निमाण गरिएका बाटोघाटो पुल घर आदि । बर्ष भरी यत्तिकै बिताएर असारमा आएर रातारात बजेट सकाउन काम गरे जस्तो देखाउने काम हुन्छ। यो प्रक्रिया सधै दोहोरिने गरेका छ्न । आखिए यस पटक पनि बजेट त आयो तर गरिव र भोको पेटलाई हात्ती आयो हात्ती आयो फुस्सा भने जस्तै भयो ।

30Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected