
स्याङ्जा । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र स्याङ्जाले पछिल्लो एक वर्षको अवधिमा ५ हजार पशुको कृत्रिम गर्भाधान गरेको छ । केन्द्र सहित जिल्लाका ११ वटा कृत्रिम गर्भाधान केन्द्रबाट ५ हजार पशुको कृत्रिम गर्भाधान गरेको हो ।

आर्थिक वर्ष २०८१÷०८२ मा तिन हजार ८२८ भैसी, एक हजार ४१ गाई, ११६ बाख्रा र १५ बंगुर गरि ५ हजार पशुको कृत्रिम गर्भाधान गरेको विज्ञ केन्द्रले जनाएको छ । कृत्रिम गर्भाधानबाट दुग्धजन्य पशुको नश्ल सुधार र मासुजन्य उत्पादन दिने पशुहरुको उत्पादकत्व बढाउन सहज हुनेछ ।

पशुहरूमा कृत्रिम गर्भाधान गर्दा उत्पादन वृद्धि हुने, हाडनाता प्रजनन्बाट उत्पादकत्वमा आउने ह्रासलाई रोक्न सकिने बताएका केन्द्रका प्रमुख डा. रुपेश श्रेष्ठका अनुसार पशुबाट पशुमा सर्ने रोगबाट बचाउन सजिलो हुने र प्रजनन् प्रक्रियाका लागि भाले जातको पशु पाल्नुपर्ने झन्झटबाट कृषकहरु मुक्त हुनेछन् ।
जिल्लाका कृत्रिम गर्भाधान गर्ने ११ केन्द्रमध्ये भेटेरिनरी अस्पतालमा ४१९, नगरपालिकातर्फ पुतलीबजारमा ४४२, वालिङ्मा ५५७, भीरकोटमा ३५१, गल्याङ्मा ७०७, चापाकोटमा १२६ तथा गाउँपालिकातर्फ फेदीखोलामा १७७, आँधीखोलामा १५३७, अर्जुनचौपारीमा ५६३, हरिनाशमा १७, कालीगण्कडीमा ५७ र बिरुवामा ४७ पशुलाई कृत्रिम गर्भाधान गरिएको छ ।
त्यस्तै केन्द्रले एक वर्षको अवधिमा एक लाख ७४ हजार ८० पशुचौपायाँलाई विभिन्न किसिमका खोप लगाएको जनाएको छ । खोप कार्यक्रमलाई अभियानका रुपमा संचालन गरेको केन्द्रले झण्डै ९० हजार भेडा, बाख्रालाई पिपिआर र ६० हजार गाई भैसीलाई एफएमडी खोप लगाएको छ ।
यस अवधिमा केन्द्रले ३१ हजार ७०३ पशुको उपचार गरेको जनाएको छ । केन्द्रले दिएको जानकारी अनुसार करिब १८ हजार पशुको सामान्य र १२ हजार पशुको जटिल प्रकृतिको उपचार गरिएको हो । केन्द्रका अनुसार गएकै वर्षमा चार हजार ७ सय ५८ पशुचौपायाँको प्रयोगशालामा स्वास्थ्य परिक्षण गरिएको छ ।
केन्द्रले आर्थिक वर्ष २०८१÷०८२ मा ८५ दशमलब ३४ प्रतिशत वित्तीय प्रगति हासिल गरिएको छ । चालुतर्फ ७० लाख विनियोजित बजेटमा ६६ लाख खर्च गरेको केन्द्रले पुँजीगततर्फ चार करोड ५४ लाख कुल बजेटमा तिन करोड ८१ लाख ८५ हजार खर्च गरेको छ । चालु र पुँजीगत गरि ५ करोड २४ लाखमा चार करोड ४७ लाख २९ हजार खर्च गरेर उक्त वित्तीय प्रगति हासिल गर्न सफल भएको केन्द्रले जनाएको छ ।





