
पोखरा । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) पोखराको आयोजनामा लेकसाइडस्थित बाराहीघाटमा ‘तेस्रो तीज सांस्कृतिक महोत्सव–२०८२’ सुरु भएको छ । हरितालिका तीजको अवसरमा आयोजना भएको महोत्सव ११ गते समापन हुनेछ ।
महोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका सामाजिक बिकास तथा खेलकुद मन्त्री बिन्दु कुमार थापाले नेपाली नारीहरूको संस्कृतिको सम्मान र पर्यटन प्रवद्र्धनको अभियानमा साक्षी हुन पाउँदा खुशी लागेको बताए । महिला पर्यटन व्यवसायीहरूको सक्रियता, नेतृत्व र सांस्कृतिक पहिचानलाई संरक्षण गर्दै आर्थिक सबलीकरणमा टेवानले पु¥याइरहेको योगदान प्रेरणादायी रहेको बताउदै मन्त्री थापाले यस किसिमका कार्यक्रमहरूले गण्डकी प्रदेशको पर्यटन, संस्कार र समाजबीचको एकता अझै बलियो बनाउने विश्वास ब्यक्त गरेका थिए । उनले सांस्कृतिक चाडपर्वमार्फत आत्मीयता, सहकार्य र समानताको भावना झन् बलियो बनोस भनि शुभकामनासमेत दिएका थिए ।
कार्यक्रममा गण्डकी प्रदेश सांसद प्रकाश बराल, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, पोखरा महानगरपालिका वडा नं. २ का वडाध्यक्ष दिवसमान प्रधानाङ्ग, नेपाल पर्यटन बोर्ड गण्डकी पदेशका प्रमुख मणिराज लामिछाने, टेवानका निवर्तमान अध्यक्ष कमला गिरी, पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारी, टेवानका संस्थापक अध्यक्ष लक्की क्षेत्रीलगाएतले शुभकामना मन्तब्य राखेका थिए । 
पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान)का अध्यक्ष शोभा न्यौपाने पाण्डेको अध्यक्षता महासचिव शोभा अधिकारी पौडेलको सञ्चालन रहेको कार्यक्रममा तेस्रो तीज सांस्कृतिक महोत्सव–२०८२ का संयोजक शान्ता तिमिल्सिना सुवेदीको स्वागत मन्तब्य रहेको थियो । कार्यक्रममा पोखराका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
महोत्सवमा सांस्कृतिक झाँकी र तीज गीत प्रतियोगिताले कार्यक्रमलाई थप उल्लासपूर्ण बनाएको टेवानका अध्यक्ष शोभा न्यौपाने पाण्डेले बताईन् । महिलाहरूले प्रस्तुत गरेका झाँकी, नृत्य, र तीज गीतहरूले उपस्थित दर्शकहरूलाई मोहित मात्र गरेन, कार्यक्रमलाई जीवन्त र ऊर्जा थप्यो, कार्यक्रम थप आकर्षण बनेको पाण्डेको भनाई थियो ।
महोत्सवले पोखराको पर्यटन प्रवद्र्धन मात्र नभई, महिला सशक्तिकरणको अभियानलाई पनि सशक्त बनाउने तीज सांस्कृतिक महोत्सवका परिकल्पनाकार टेवानका निवर्तमान अध्यक्ष कमला गिरीले बताईन् । पोखरामा आयोजना भएका यस्ता महोत्सवहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएका उनको भनाई थियो ।
‘संस्कृतिको जगेर्ना गरौं, पर्यटन प्रवर्धननमा योगदान पु¥याऔं’ भन्ने नाराका साथ महोत्सव आयोजना गरिएको महासचिव शोभा अधिकारी पौडेलले जानकारी दिइन् । महोत्सवले नेपाली महिलाको भक्ति, उल्लास र सामूहिक संस्कृतिको पर्वका रूपमा मनाइने तीजको परम्परागत गीतलाई खुला चौरमा पुनर्जीवित गर्ने उद्देश्य रहेको बताईन् ।
तेस्रो तीज सांस्कृतिक महोत्सव–२०८२ का संयोजक शान्ता तिमिल्सिना सुबेदीका अनुसार दुईदिनसम्म सञ्चालन हुने महोत्सवमा सांगीतिक तीज गीत प्रतियोगिता, विभिन्न खेलकुद प्रतियोगिताहरु रस्साकसी, घैंटो फुटाउने, साडी दौड जस्ता रमाइला खेलकुदसँगै महिला सशक्तीकरणसम्बन्धी दुईटा ‘टक–शो’ (संवाद कार्यक्रम) हुनेछन् ।
तीज गीत प्रतियोगितामा पहिलो हुने टिमले ३५ हजार, दोस्रोले २५ हजार, तेस्रोले २० हजार र सान्त्वना १० समूहले ४–४ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने टेवानका कोषाध्यक्ष शरद लम्सालले बताईन् । उत्कृष्ट नृत्यलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको उनले बताइन् ।
महोत्सवको मुख्य प्रवर्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड छन् । महोत्सवलाई गण्डकी प्रदेश सरकार, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, उद्योग तथा पर्यटन मन्त्रालय र पोखरा पर्यटन परिषद्को सहयोग छ ।










