
स्याङ्जा । स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको १६ औं वार्षिकोत्सव तथा १७ औं स्थापना दिवस सम्पन्न भएको छ । समितिको वार्षिकोत्सव तथा स्थापना दिवस केन्द्रिय कार्यालय स्याङ्जस्थित सचिवालयमा सम्पन्न भएको हो ।
वार्षिकोत्सव तथा स्थापना दिवसका अवसरमा बोल्दै समितिका संस्थापक अध्यक्ष एवं संरक्षक अनन्त श्रेष्ठले समन्वय समितिले जिल्लाका समस्याहरु सहकार्य मार्फत हल गर्दै अगाडी बढेको सुनाए । सबैको सकारात्मक सयोग र सहकार्यबाट ठूला समस्याहरु सजिलै समाधान गर्न सहयोग मिलेको उनले बताए ।
त्यस अवसरमा समितिका सल्लाहकार मेघ प्रनेश, सचिवालय सदस्य गुप्त गैह्रे, केन्द्रिय सदस्य हिमलाल डुम्रे, शुभेक्छुक ढाकाराम पौडेलले समिति गठन भएपछि भएका कामको प्रसंशा गर्दै जिल्लाको विकासमा सहकार्यलाई अझ फराकिलो बनाउँदै लग्नुपर्नेमा जोड दिए ।
एक करोड बराबरको अक्षयकोष स्थापना गरेको समन्वय समितिले हालसम्म झण्डै ८ करोड मुल्य बराबरको सहयोग हस्तान्तरण गरेको समितिका संरक्षक अनन्त श्रेष्ठले जानकारी दिए । समितिले विभिन्न देशहरुमा रहेका स्याङ्जालीहरुसँग समन्वय गर्दै पुँजी र प्रविधि मार्फत जिल्लाको सामाजिक र आर्थिक विकासमा टेवा पुर्याएको श्रेष्ठले जानकारी दिए ।
विश्वभर छरिएर रहेका स्याङ्जालीहरुलाई समितिले समन्वय गर्दै आएको छ । समितिले दैवि प्रकोप पीडित, गरिब तथा उत्पीडित वर्गलाई मानवीय सहयोग, विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण र खेलकुद तथा सांस्कृतिक कार्यक्रममा सहकार्य गर्दै आएको छ ।





