1Shares

स्याङ्जा । गाउँपालिकाका अधिकांश सडक कालोपत्रे छन् । पालिकाले हरेक नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ । न्यूनतम २० युनिट विद्युत उपभोग फ्रि सुविधा दिँदा समेत गाउँ छोड्नेको संख्यामा कमि नआएपछि जग्गा बाँझो हुने क्रम बढ्दै गयो । जग्गा बाँझो हुने क्रमलाई रोक्न जग्गा भाडामा लिएर स्याङ्जाको कालिगण्डकी गाउँपालिकाले तरकारी खेती शुरु गरेको छ ।

आर्थिक वर्ष २०८१/०८२ बाट पालिकाभित्र बाँझो छाडिएका जग्गा भाडामा लिएर कालिगण्डकीले तरकारी खेती शुरु गरेको हो । बसाइँ सरेर गएका र खेती गर्न छाडेका करिब २५ कृषकको जग्गा भाडामा लिएर तरकारी खेती गरिएको गाउँपालिकाका अध्यक्ष खिम थापाले बताए । स्थानीयलाई प्रेरित गर्न र हौसला थप्न जग्गा भाडामा लिएर खेती शुरु गरेको उनले सुनाए ।

प्रतिरोपनी वार्षिक झण्डै दुई हजार ५ सयमा तिन वर्षका लागि भाडामा लिएको झण्डै ८५ रोपनी जग्गामा तरकारी खेती गरिएको छ । भाडामा लिइएको जग्गामा १२ लाख खर्चेर आवश्यक संरचना बनाएको कालिगण्डकीले तरकारी खेतीबाट वार्षिक १२ लाख आम्दानी गर्ने लक्ष्य लिएको छ ।

कालिगण्डकीका ३, ५ र ७ नं. वडामा बाँझो छाडिएका जग्गामा तरकारी खेती गरिएको छ । पहिलो वर्ष जग्गा व्यवस्थापन र नर्सरी स्थापनामा धेरै समय बितेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फर्शुराम उपाध्यायले बताए । जग्गा र नर्सरी व्यवस्थापन गर्दागर्दै बचेको समयमा लगाएको बोडि, सिमी, फर्सि, काँक्रो, घिरौला, गोलभेडा, आलु र प्याज बिक्रीबाट सामान्य आम्दानी लिएको अधिकृत उपाध्यायले जनाए ।

पालिकाकाले चलाएको फर्मबाट उत्पादित तरकारी स्थानीय बजार, जिल्लाकै गल्याङ् र वालिङमा खपत हुँदै आएको छ । पहिलो वर्ष सामान्य आम्दानी लिएको गाउँपालिकाले चालु वर्षदेखि राम्रै आम्दानी लिने आशा गरेको छ । पहिलो वर्ष खर्चेको १२ लाख अरु वर्ष खर्चन पर्दैन् प्रत्येक वर्ष १२ लाखकै हाराहारीमा आम्दानी लिन सकिनेमा गाउँपालिकाले विश्वास जनाएको छ ।

जग्गामा मौसमी तथा बेमौसमी तरकारी खेती लगाईन्छ । उत्पादित तरकारी स्थानीयस्तरमा खपत नभए छिमेकी बुटवल बजार निर्यातका प्रबन्ध मिलाएको गाउँपालिकाले जनाएको छ । विषादी प्रयोग नगर्ने फर्ममा रैथाने जातका तरकारीका बिरुवा लगाईएको गाउँपालिकाले दावी गरेको छ ।

कृषि शाखामा सूचिकृत भएका कामदार परिचलान गरेर फर्मको काम चलाइएको छ । सरकारले तोकेको न्यूनतम ज्याला दिएर कामदार मार्फत फर्ममा काम गरेको कृषि अधिकृत अनुप पौडेलले बताए । मौसम अनुसार, बन्दा, काउली, खुर्सानी, सिमी, काँक्रा, घिरौला, प्याज र आलु उत्पादन गरिनेछ । आलु र प्याज बढि भए चिस्यान केन्द्रमा राख्ने व्यवस्था मिलाएकोे पौडेलले बताए ।

कालिगण्डकीले आर्थिक वर्ष २०७६/०७७ देखि १० वर्षका लागि स्थानीयको बाँझो जग्गा भाडा लिएर ड्रागन खेती गर्दै आएको छ । ९० लाखको खर्चमा आवश्यक संरचना बनाएर ड्रागन खेती गरेको पालिकाले पछिल्लो तिन वर्षदेखि आम्दानी लिन थालेको छ । अघिल्लो वर्ष ८ लाख मुनाफा आर्जन गरेको कालिगण्डकीले चालु सिजनमा ५ लाख ५० हजार रुपैयाँ आर्जन गरिसकेको छ ।

ड्रागन खेतीबाट आर्जन गरेको अनुभवलाई तरकारी खेतीमा लगाएको हो । स्थानीयलाई कृषिबाट आम्दानी लिन सकिन्छ भन्दै मखमली फूल र केरा खेतीको व्यावसायिक उत्पादनमा लगाएको कालिगण्डकीका प्रशासकीय अधिकृत उपाध्यायले बताए । मखमली फूल र केरा खेती गरेका कृषकलाई अनुदानसँगै बजारीकरणको व्यवस्था पालिकाले गरेको उनले बताए ।

1Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected