अन्नपूर्ण गाउँपालिकामा प्रशासकीय भवन निर्माण स्थलबारे सर्वदलीय ज्ञापनपत्र : नयाँपुल/बिरेठाँटी उपयुक्त, नभए ढिकुरपोखरीमै स्थायी केन्द्र बनाउन माग
- August 31, 2025
- 234


पोखरा, भदौ १५ । अन्नपूर्ण गाउँपालिकामा प्रशासकीय भवन निर्माण गर्ने स्थानबारे लामो समयदेखि चल्दै आएको बहसलाई टुंगोमा पुर्याउन गाउँपालिकामा क्रियाशील सात राजनीतिक दलहरूले संयुक्त निर्णय गर्दै गाउँपालिका अध्यक्ष बिष्णु बहादुर केसीलाई ज्ञापनपत्र बुझाएका छन् ।

मिति २०८२ भदौ १० गते बसेको सर्वदलीय बैठकमा गाउँपालिकाको स्थायी प्रशासकीय भवन निर्माणका लागि नयाँपुल/बिरेठाँटी क्षेत्र उपयुक्त हुने निष्कर्ष निकालिएको थियो । ज्ञापनपत्रमा जनसंख्या तथा मतदाताको घनत्व, राजमार्गको सहज पहुँच, राज्यको आर्थिक मितव्ययिता र निशुल्क वा न्यूनतम लागतमा जग्गा प्राप्त गर्न सकिने आधारलाई प्राथमिकता दिनुपर्ने स्पष्ट गरिएको छ ।

बैठकले यी मापदण्डअनुसार नयाँपुल/बिरेठाँटी उपयुक्त रहेको निष्कर्ष निकाल्दै, यदि सो क्षेत्रमा जग्गा प्राप्तिमा मापदण्ड पूरा नभएमा हाल अस्थायी रूपमा प्रयोग हुँदै आएको ढिकुरपोखरीकै कार्यालय परिसरलाई स्थायी प्रशासकीय भवन स्थल बनाउनुपर्ने सर्वसम्मत निर्णय गरेको छ ।
ज्ञापनपत्रमार्फत सात दलहरूले प्रशासकीय भवन निर्माण स्थल टुंगोमा पुग्न ढिलाइ हुँदा पालिकाबासी नागरिकले भोग्दै आएको प्रशासनिक असुविधा बढेको भन्दै तत्काल निर्णय कार्यान्वयनमा अघि बढाउन गाउँपालिका नेतृत्वलाई आग्रह गरेका छन् ।
सर्वदलीय निर्णय अनुसार, कानुनी प्रक्रिया पूरा गरेर पालिकाको दीर्घकालीन हितलाई ध्यानमा राखी प्रशासकीय भवन निर्माण कार्यलाई चाँडै अघि बढाउनुपर्नेमा सबै दल एकमत भएका छन् ।
ज्ञापनपत्रमा हस्ताक्षर गर्ने दलका प्रतिनिधि :
– मनपति भण्डारी, सभापति, नेपाली काँग्रेस
– चुणामडी अधिकारी, अध्यक्ष, नेकपा (एमाले)
– भेषराज पौडेल, अध्यक्ष, नेकपा (माओवादी केन्द्र)
– फणिन्द्र प्रसाद अधिकारी, अध्यक्ष, राष्ट्रिय स्वतन्त्र पार्टी
– हरिराम भण्डारी, अध्यक्ष, राष्ट्रिय प्रजातन्त्र पार्टी
– चेतनाथ भण्डारी, अध्यक्ष, नेसपा नयाँ शक्ति
– कुल प्रसाद पौडेल, अध्यक्ष, नेकपा समाजवादी
गाउँपालिकाको स्थायी प्रशासकीय भवनबारे लामो समयदेखि विभिन्न जनगुनासा आइरहेका छन् । गाउँपालिकामा सेवा लिन आउने सर्वसाधारणले केन्द्र टाढा भएकाले असुविधा भोग्दै आएका छन् । त्यसैले, सर्वदलीय ज्ञापनपत्रपछि अब स्थायी प्रशासकीय भवनको स्थान टुंगोमा पुग्ने अपेक्षा गरिएको छ ।
ज्ञापनपत्र बुझाउँदै दलका प्रतिनिधिहरूले अन्नपूर्ण गाउँपालिकाले चाँडै उचित निर्णय लिई स्थायी प्रशासकीय भवन निर्माण प्रक्रिया अघि बढाएमा पालिकाबासीलाई सहज सेवा उपलब्ध हुने, प्रशासनिक कामकाज प्रभावकारी हुने र गाउँपालिकाको समग्र विकासलाई गति दिने विश्वास व्यक्त गरेका छन् ।





