
पोखरा । महिला पर्यटन व्यवसायी कमला गिरीले आफ्नो लामो समयदेखि गरेको समर्पण र योगदानका कारण अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड प्राप्त गरेकी छन्। काठमाडौंमा सोमबार सम्पन्न समारोहमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उनलाई महिला पर्यटन उद्यमी अवार्ड प्रदान गरेका हुन्।

सिजन मिडियाद्वारा आयोजना हुने यो अवार्ड समारोहमा विभिन्न क्षेत्रका व्यक्तित्वलाई निरन्तरता, उपलब्धि र योगदानका आधारमा सम्मान गरिन्छ। छैटौं संस्करणको रुपमा सम्पन्न यसपालिको कार्यक्रममा गिरीसहित २९ जना सम्मानित भए भने तीमध्ये सातजना विदेशी रहेका थिए।

पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) की निवर्तमान अध्यक्ष समेत रहेकी गिरीले अध्यक्षका रूपमा काम गर्दा महिला पर्यटन व्यवसायीलाई एकजुट गर्दै उनीहरूको सशक्तिकरणमा योगदान पुर्याएकी थिइन्। उनले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा देखाएको सक्रियता उल्लेखनीय मानिन्छ।
उनी रोटरी क्लब अफ पोखरा फिस्टेलको अध्यक्ष र नाट्टा गण्डकीको निवर्तमान उपाध्यक्ष समेत हुन्। लामो समयदेखि ट्राभल एजेन्सी सञ्चालन गर्दै आएकी उनले पोखराको लेकसाइडमा ह्वाइट कोरल स्पा एकेडेमी स्थापना गरेर पर्यटनसँग सम्बन्धित नयाँ आयाम थपेकी छन्। एकेडेमीकी प्रबन्ध निर्देशकका रूपमा उनले तालिम र रोजगारीका अवसर पनि सिर्जना गरिरहेकी छन्।
सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन, अभिनेत्री केकी अधिकारीसहित विभिन्न क्षेत्रका ख्यातिप्राप्त व्यक्तित्वहरू पनि सम्मानित भएका थिए।
कमला गिरीको यो सम्मानले पोखरालगायत सम्पूर्ण गण्डकी प्रदेशका पर्यटन व्यवसायी महिलाको मनोबल उच्च बनाएको छ। उनी केवल व्यवसायी मात्र नभई, सामाजिक नेतृत्व, संस्थागत विकास र पर्यटन प्रवर्द्धनका लागि प्रेरणादायी नामका रूपमा स्थापित भएकी छिन्।





