लेउवा संघमा पहिलोपटक महिला नेतृत्व : जानुका पराजुली प्यानललाई महिला व्यवसायीको समर्थन


पोखरा, भदौ। लेखनाथ उद्योग वाणिज्य संघको निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल तातिरहेको छ। यसै क्रममा संघको नेतृत्वमा पहिलोपटक महिला पुर्याउने लक्ष्यसहित जानुका पराजुली अधिकारी नेतृत्वको टिमलाई विजयी गराउन शनिबार महिला सदस्यहरूको विशेष भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।

बेगनासताल चोकमा आयोजित कार्यक्रममा महिला व्यवसायीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। महिला सदस्यहरूको सक्रियता र संघका पूर्व अध्यक्षहरूको समर्थनका कारण जानुका प्यानलका उम्मेदवारहरू थप उत्साहित बनेका छन्।

भेलामा संघकी संस्थापक सदस्य तथा अग्रज महिला नेतृ बिन्दु सुवेदी र लामो समयसम्म कार्यसमितिमा रहेर योगदान पुर्याएकी गीता सुवेदीलाई विशेष सम्मान गरिएको थियो । भेलाको उद्घाटन गर्दै संस्थापक सदस्य सुवेदीले बिरुवामा पानी हालेर प्रतीकात्मक शुभारम्भ गर्दै महिलाले संघको नेतृत्व लिनुपर्ने आवश्यकता औँल्याइन्। “यो अवसर महिलाको नेतृत्व स्थापित गर्ने ऐतिहासिक क्षण हो,” उनले भनिन्, “सबै महिला गम्भीर भई सक्रिय बन्न जरुरी छ।”
संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले स्थापनाकालदेखि महिलाको योगदान महत्वपूर्ण रहेको भन्दै यसपटक महिला नेतृत्वलाई विजयी गराएर संघलाई अझ सबल बनाउनुपर्नेमा जोड दिए। पूर्व अध्यक्षहरू बाबुराम गिरी, सुमन भट्टराई र छत्रधर आत्रेयले पनि महिला नेतृत्वलाई समर्थन जनाउँदै निजि क्षेत्रमा क्षमता, इमान्दारिता र पारदर्शिता प्रदर्शन गर्न तथा संघलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन पनि महिला नेतृत्व अपरिहार्य रहेको धारणा राखे।
अध्यक्ष पदकी उम्मेदवार एवं हालकी महासचिव जानुका पराजुली अधिकारीले नयाँ सोच, सम्भावना र लैङ्गिक समानताका आधारमा महिलाको सक्रिय सहभागिताले संघलाई सशक्त बनाउन सक्ने विश्वास व्यक्त गरिन्। उनले आफ्नो प्यानल समग्र लेखनाथ क्षेत्रको विकास अभियानमा सक्षम रहेको उल्लेख गर्दै सबैलाई महिला सहभगीता बढी रहेको आफ्नो टिमलाई समर्थन गर्न आग्रह गरिन्।
कार्यक्रममा जानुकाले गरेका कार्यहरूको श्रव्यदृश्य सामग्री प्रस्तुत गरिएको थियो। सो अवसरमा होटल व्यवसायी शान्ति खनाल, विमला बस्नेत, उपमहासचिवका उम्मेदवार गंगा मल्ल लगायतले महिलाको नेतृत्व र आगामी रणनीतिबारे आ–आफ्ना धारणा राखे।
सदस्य पदका उम्मेदवार प्रभा पौडेल लामिछाने, प्रतिक्षा रानाभाट र शर्मिला श्रेष्ठले महिलाले संघमा महत्वपूर्ण योगदान दिए पनि नेतृत्वमा पुग्न नपाएको गुनासो गर्दै यसपटक महिलालाई नेतृत्वमा पुर्याएर संघलाई विधिसम्मत ढंगले सबल बनाउन प्रतिबद्धता जनाए।
जानुका अधिकारीको प्यानलमा वरिष्ठ उपाध्यक्षमा गोपिचन्द्र बास्तोला, प्रथम उपाध्यक्षमा विक्रम कर्माचार्य, द्वितीय उपाध्यक्षमा ध्रुबबाबु भट्टराई (आईडी), महासचिवमा भरतराज ओझा, उपमहासचिवमा गंगा कुमारी मल्ल, कोषाध्यक्षमा हरि बस्ताकोटी रहेका छन्। कार्यसमितिका सदस्यतर्फ प्रतिक्षा रानाभाट, प्रभा पौडेल लामिछाने, बीरेन्द्रराज भुर्तेल, भविन्द्र पुन भविन, सुजन न्यौपाने, दिपक अधिकारी, कृष्णप्रसाद तिमिल्सिना र सन्दिप बुढाथोकी उम्मेदवार छन्।
त्यस्तै, एसोसिएट सदस्यमा दयाराज भण्डारी, संस्थागत सदस्यमा बिरभद्र कँडेल (निर्विरोध), महिला सदस्यतर्फ शर्मिला श्रेष्ठ र गंगा सापकोटा परियार उम्मेदवार बनेका छन्।





