डिष्टिक्ट ३२५ आई नेपालको डिएलएलआई सम्पन्न, करण कँडेल र स्वेता बजाज ‘स्टार’


पोखरा भ्यूज
पोखरा, १७ भाद्र। डिष्टिक्ट ३२५ आई नेपालको डिष्टिक्ट लायन्स लिडरशिप इन्स्टिच्युट (डिएलएलआई) पोखरामा सम्पन्न भएको छ। पोखरा–२१ स्थित माउण्ट ग्लोरी रिसोर्टमा शुक्रबारदेखि आइतबारसम्म तीन दिन चलेको उक्त तालिममा ९३ जना क्लब अध्यक्ष सहभागी भएका थिए।

कार्यक्रम डिष्टिक्ट गभर्नर पार्वती खरेल पाण्डेको अध्यक्षता र पोखरा महानगर प्रमुख तथा लायन्सका पूर्व डिष्टिक्ट गभर्नर धनराज आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा लायन्स अन्तर्राष्ट्रियका आईडी (इन्डोर्सी) एवं एलसिआइएफ एरिया लिडर राजन लम्साल, मल्टिपल डिष्टिक्ट ३२५ नेपालका मल्टिपल काउन्सिल चेयरपर्सन मिलन थापा, डिजी टिम तथा पूर्व डिष्टिक्ट गभर्नरहरूको उपस्थिति रहेको थियो।

तीन दिने तालिममा प्रमुख अतिथि आचार्यले भाषण कला, आईडी लम्सालले फन्डामेन्टल अफ लायनिज्म र अन्तर्राष्ट्रिय प्रशिक्षक नरबहादुर कार्कीले मोटिभेशनल सेसन दिएका थिए। त्यस्तै, डिष्टिक्ट ३२५ आई नेपालका निर्वतमान डिष्ट्रिक्ट गर्भनर बिनोद ढुंगाना, प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर सूर्य कुमार केसी, द्धित्तिय भाईस डिष्ट्रिक्ट गभर्नर शैलेन्द्र मोहन भट्टराई, पूर्व मल्टिपल काउन्सिल चेयरपर्सन मनबहादुर रोका, पूर्व डिष्ट्रिक्ट गर्भनरहरु चन्द्रकुमार केसी, रामबहादुर बसेल, इन्दु लम्साललगाएत विभिन्न पदाधिकारीहरूले क्लब कार्यको रिपोर्टिङ, महिला सशक्तीकरण, लायनवादका मूल्य मान्यता तथा सहभागी प्रशिक्षार्थीले पालना गर्नुपर्ने कोड अफ कनडक्टबारे मार्गदर्शन गरेका थिए।
डिष्टिक्ट गभर्नर पाण्डेले नेतृत्व तथा व्यक्तित्व विकासका लागि इन्स्टिच्युट अत्यन्तै फलदायी भएको उल्लेख गर्दै, “हालसम्म भएका तालिममध्ये यो उत्कृष्ट बन्न सफल भएको छ” भनिन्।
सहभागीलाई मकालु, धौलागिरी, मनास्लु र अन्नपूर्ण गरी चार समूहमा विभाजन गरिएको थियो। समूहगत प्रतिस्पर्धा, भाषण अभ्यास तथा मनोरञ्जनात्मक खेलमार्फत उत्कृष्ट चयन गर्दा पुरुषतर्फ करण कँडेल र महिलातर्फ स्वेता बजाज डिएलएलआई स्टार घोषित भएका थिए।





