पोखरा । जलिरहेको घर, उडिरहेको बाक्लो धुवाँ, र भित्रै जिउँदै आगोले जलिरहेकी परिवारकै सदस्य बहिनीको हृदयविदारक चीत्कार। त्यो क्षण धुर्व बहादुर थापाका लागि केवल एउटा घर गुमाउनु मात्र थिएन-३५ वर्षको मेहनत, पसिना र सपनासँगै जीवनकै उत्साह खरानी बनेको क्षण थियो।
लायन्सअन्तर्राष्ट्रियडिष्ट्रिक्ट३२५नेपालका पूर्व डिष्ट्रिक्ट गभर्नर धुर्ब बहादुर थापा र उनकी धर्मपत्नी मिलन थापा—जो हाल लायन्स अन्तर्राष्ट्रिय मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको मल्टिपल काउन्सिल चेयरपर्सन तथा डिष्ट्रिक्ट३२५ जे नेपालका निवर्तमान डिष्ट्रिक्ट गभर्नर हुनुहुन्छ। उहाँहरु दुवै जना विगत लामो समयदेखि उद्यमशीलता र सामाजिक सेवामा समर्पित रहनु भएको छ ।
१७ वर्षको उमेरमा पढाइसँगै व्यवसाय सुरु गरेका धुर्व थापाले आफ्नो यात्रालाई केवल व्यक्तिगत उपलब्धिमा सीमित राखेनन्। “नेपालमै उद्यम गर्नुपर्छ, यहाँ सम्भावना धेरै छ,” भन्ने उनको भनाइले असंख्य युवालाई प्रेरणा दियो। तर, थापा दम्पतिको पहिचान केवल सफल उद्यमीमा मात्र सीमित छैन। २०७२ सालको भूकम्प होस् वा कोभिड–१९ को महामारी, उनीहरूले समाजलाई प्राथमिकतामा राखे। दर्जनौँ एम्बुलेन्स आयात गरी विभिन्न संघ–संस्थालाई निःशुल्क उपलब्ध गराए, जसले आजसम्म देशका कुनाकाप्चामा सेवा पुर्याइरहेका छन्। “हामीले सधैं व्यापारभन्दा मानवीय सेवालाई अगाडि राख्यौं,” थापा भन्छन्।
तर हालै २४ गते Gen-z को प्रदर्शनका क्रममा सबैलाई स्तब्ध बनाउँदै आगोले उनको घर र कार्यालयलाई खाक बनाइदियो। पुर्खाको जग्गामा बनेको, ३५ वर्षको संघर्ष जोडिएको घर केही क्षणमै खरानी हुँदा थापा भाबुक बने। “घर जलेर खण्डहर भएको देख्दा नेपालमै बसेर व्यवसाय गर्नु गल्ती भएछ कि भन्ने लाग्छ,” उनले सामाजिक संजालमा भावुक हुदै लेखेका छन् ।
तर सम्पत्ति गुमाउनु भन्दा बढी पीडादायी थियो—घरमै काम गर्दै आएकी र परिवारकै सदस्य भएकी बहिनीको ज्यान गुमाउनु। “केही क्षण अघि मात्र हामीलाई खाना खुवाएकी ती बहिनी क्षणमै बर्बरतापूर्वक आगोमा जलेर गुम्छिन् भन्ने कल्पना पनि गर्न सकेको थिइनँ। ”
आगोको घटनासँगै दाजु बिन्दु थापामाथि सामाजिक सञ्जालमार्फत लगाइएका आरोपबारे पनि धुर्व ले लेखेका छन् । “दाजु राजनीतिमा लाग्नु अघि नै सफल व्यवसायी हुनुहुन्थ्यो। उहाँमाथि लगाइएका भ्रष्ट्राचारका आरोपहरू कपोलकल्पित मात्र हुन्। आम जनताले उहाँको स्वच्छ छवि राम्ररी बुझ्छन्,” उनले प्रष्ट पारे। उनले थपे, “हाम्रो परिवार पुर्खादेखि नै जनताको पैसा हिनामिना गर्ने स्थितिमा छैन। बरु दाजुले सांसद र मन्त्री हुँदा पाएको सम्पूर्ण तलब–भत्ता समाजमै खर्च गर्नुभयो।”
यस्तो कठिन घडीमा साथ, सहानुभूति र उत्प्रेरणा दिने सबैप्रति थापाले आभार व्यक्त गरेका छन्। “तपाईंहरूको उत्प्रेरणाले हामीलाई अझै बलियो भएर अघि बढ्ने हिम्मत दिएको छ,” उनले कृतज्ञ हुँदै भने।
उहाँको सामाजिक संजालबाट जस्ताको तस्तै साभार गरिएको अंश
म कुनै राजनीतिक मान्छे थिइन। न कुनै भ्रष्ट वा तस्कर। १७ वर्षको उमेरदेखि कलेज पढ्दै उद्यम गर्न सुरु गरेको थिएँ। कति आरोह अवरोह र जोखिम मोलेर यो स्थितिमा आइपुगेको अवस्था हो। आफूले मात्रै उद्यम व्यवसाय गरिन् अरु धेरैलाई पनि सिकाएं।नेपालमै उद्यम गर्नुपर्छ। नेपालमै सम्भावना धेरै छ भन्दै अभिप्रेरित गर्दै आएको छु। आफूले उद्धम व्यवसायबाट केही कमाउँदा समाजको लागि पनि योगदान गरिरहेको छु। युवा उमेर देखि नै सामाजिक र मानवीय सेवामा लागिरहेको छु। म मात्र होइन हामी हामी दम्पति नै लागिरहेका छौं। ७२ सालको भूकम्पको बेला होस् वा कोभिडको समयमा, थुप्रै सङ्ख्यामा एम्बुलेन्सहरु आयात गरेर विभिन्न संघसंस्थाहरूलाई निशुल्क प्रदान गर्यौ। जुन आजका दिनसम्म पनि नेपालका विभिन्न स्थानमा सेवा पुर्याइरहेका छन्। हामी दम्पतिले विभिन्न सामाजिक संघसंस्थाहरू मार्फत पनि देश र समाजलाई दुःख पर्दा आफ्नो व्यापार व्यवसाय छोडेर पनि मानवीय सेवाका लागि पहिलो प्राथमिकतामा राखेर योगदान गर्दै आएका छौं। आजका दिनसम्म आफूले जानेर बुझेर कुनै गलत कार्य गरेको जस्तो लाग्दैन तर यस्तो गरिरहँदा पनि आज आफू बस्ने घर अफिस जलाईदा मन पनि जल्दो रहेछ। जलेको घरको आगोसँगै मेरा ति सबै उत्साह पनि जलेर खरानी भइरहेका छन। जलेर खण्डहर भएको घर हेर्दा नेपालमा बसेर व्यवसाय गर्नु नै गल्ती गरिएछ कि भन्ने लागिरहेछ। मेरा बुवा बाजेहरूले आर्जेको जग्गामा बनाइएको यो घरसँग मेरो ३५ वर्षदेखिको मेहनत र पसिना जोडिएको थियो तर एकैछिनमा सबै खरानी बनाइदिए।
सम्पत्ति घर गुमाउनु को पीडा त एकातिर छँदै थियो त्यो पीडा भन्दा पनि धेरै पीडा हाम्रो परिवार कै सदस्य भएर बसेकी घरको काम गर्ने बहिनीलाई गुमाउनु पर्दा भइरहेको छ। घटना हुनु केही क्षण अघि मात्रै हामी सबै परिवारलाई खाना बनाएर खुवाएकी ती बहिनी एकछिनमै बर्बरतापूर्वक जिउँदै आगोमा जलाएर मारिन्छिन् भनेर कल्पना पनि नगरेको विवत्स घटना व्यहोर्नु परेको छ। घरमा मान्छे छन भने जानकारी हुँदाहुँदै तलबाट आगो लगाउने काम GenZ ले गरेका हुन् वा त्यहाँ भित्र अरु नै कोही थिए समयक्रमले बताउँदै जाला तर जोसुकै हुन् ति क्रुर अपराधीहरु भोलिका दिनमा कुनै राजनीतिक खोल ओडेर उम्किन नपाउन।
अहिलेको आन्दोलनमा मेरो दाजु बिन्दु थापासँग मलाई जोडिएको छ। दाई राजनीतिमा हुनुहुन्छ। उहाँ व्यवसायमा सफल भएपछि राजनीतिमा लागेर सेवा गर्छु भनेर हिँड्नुभयो। के राजनीति गर्नु नै अपराध हो? उहाँ राजनीतिमा लाग्नुभन्दा धेरै पहिला देखि नै पोखराको एक सफल व्यवसायीको रुपमा चिनिनुहुन्थ्यो। अनि अर्को कुरा उहाँलाई भ्रष्टाचार गरेको र भ्रष्टाचारबाट प्राप्त रकम उहाँको छोराहरुले मोजमस्ती गरेको भनेर जुन प्रकारले सोसल मिडियामा सयौँको सङ्ख्यामा फेक आइडी बनाएर देखाइयो त्यो बिल्कुल निराधार र कपोलकल्पित छ। उहाँको बढ्दो लोकप्रियता देखेर उहाँको इमेज ड्यामेज गराई राजनीतिक अभिष्ट पूरा गर्न रचिएको योजना हो त्यो। हुन त यो क्षेत्रका आम जनताले राम्रोसँग बुझेका छन् उहाँको बारेमा। एउटा महत्वपूर्ण कुरा के भने, हामीहरूको परिवार अहिले मात्र होइन पुर्खादेखि नै जनताको पैसा भ्रष्टाचार गरेर कमाउनुपर्ने अवस्थामा छैनौँ। यो देश निर्माण गर्न हाम्रो पुर्खाको पनि महत्वपूर्ण योगदान छ। उनीहरूकै सन्तान हौं हामी। यसैले हामीलाई यो देशको अझ बढी माया छ। मेरो दाजुले पनि विगत देखि नै सांसद र मन्त्री हुँदा प्राप्त गरेको सम्पूर्ण तलब भत्ता समेत सामाजिक कामका लागि डोनेसन गर्दै आउनुभएको छ। उहाँ नेपालमा भएका एकदमै कम मात्र स्वच्छ छवि भएका राजनीतिक नेतामध्ये मध्ये एक हुनुहुन्छ। जसले आफूसँग भएको सम्पूर्ण चल अचल सम्पत्ति पारदर्शिताका साथ सबै जनताका सामु राखिदिनुभएको छ। भ्रष्टाचार गरेको भए वा पछि गर्ने योजना भएको भए कसैले यस्तो गर्थ्यो होला र?
यो अत्यन्त पीडादायी क्षणहरूमा हामीप्रति सहानुभूति प्रकट गर्दै हाम्रो आत्मबल कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहनुभएका सम्पूर्ण महानुभावहरु प्रति हृदयदेखि नै आभार प्रकट गर्दछु। यहाँहरूले प्रदान गर्नुभएको उत्प्रेरणाका वचनहरूले हामीलाई पहिलेको भन्दा पनि अझै सशक्त भएर अगाडि बढ्ने हौसला मिलेको छ।