गण्डकी प्रदेश सुरक्षा बैठक :आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएका हतियार फिर्ता गर्नआह्वान
- September 16, 2025
- 1656

पोखरा । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा बसेको गण्डकी प्रदेश सुरक्षा समन्वय समितिको बैठकले भदौ २३ र २४ गतेको आन्दोलनका कारण प्रदेशको शान्ति–सुरक्षामा परेको प्रभावबारे छलफल गरेको छ। बैठकले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।
आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएका हतियार फिर्ता गर्न बैठकले सञ्चारमार्फत आह्वान गर्ने निर्णय गरेको छ। समयमा फिर्ता नगर्नेहरूलाई विषयगत अपराधअन्तर्गत कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ।
तोड़फोड़, आगजनी, लुटपाट र चोरीमा संलग्नलाई पहिचान गरी कारबाही अघि बढाउन सबै जिल्ला सुरक्षा समितिलाई निर्देशन दिइएको छ। शान्ति र अमनचयन कायम राख्न सुरक्ष निकायबीच समन्वय र नागरिक समाजसँग सहकार्य गर्ने निर्णय समेत भएको छ।
वर्षायामकै सम्भावित विपद् जोखिमलाई मध्यनजर गर्दै विपद् व्यवस्थापनमा सतर्कता अपनाउने र चाडपर्व लक्षित सुरक्षा योजनालाई प्रभावकारी ढंगले कार्यान्वयन गर्ने निर्णय बैठकले गरेको छ।










