
काठमाडौं, असोज ३ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान दिवसको अवसरमा ज्ञात–अज्ञात शहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपालको संविधान जनताले पटक–पटक गरेको क्रान्ति, संघर्ष र आन्दोलनको महत्वपूर्ण उपलब्धि भएको बताएका छन्।
उनले असोज ३, २०७२ मा संविधानसभाबाट पारित भई घोषणा भएको संविधानले लोकतन्त्र, मानव अधिकार र सामाजिक न्यायका सार्वभौमिक मान्यतालाई आत्मसात् गरेको स्मरण गर्दै यसको स्थायित्वले मात्र मुलुकमा राजनीतिक स्थिरता र आर्थिक समृद्धि सम्भव हुने उल्लेख गरे।
देउवाले मुलुकमा विकसित भइरहेका वर्तमान राजनीतिक अवस्थाको निकास पनि यही संविधानभित्रै सम्भव हुने विश्वास व्यक्त गरे। “संविधान मुलुकको सर्वोच्च कानून भएकाले विशेष परिस्थितिमा उत्पन्न हुने राजनीतिक जटिलताको समाधान संविधानले नै दिनुपर्छ,” उनले भने।
उनका अनुसार यदि राजनीतिक स्थिरताको खोजी संविधानबाहिर गरियो भने झन् अस्थिरता र संकट निम्तिने सम्भावना बढी हुन्छ। त्यसैले संविधानको सफल कार्यान्वयनसहितको संरक्षण नै सबैको साझा जिम्मेवारी भएको देउवाले स्पष्ट पारे।
संविधान जारी भएको एक दशक पुगेको यो दिनलाई गौरवका साथ स्मरण गर्नुपर्ने बताउँदै उनले प्रत्येक वर्ष नागरिकले स्वतन्त्रता र समानताको अनुभव गर्दै उल्लासका साथ संविधान दिवस मनाउँदै आएको उल्लेख गरे।
देउवाले न्याय, समानता, स्वतन्त्रता र बहुलवादमा आधारित बहुदलीय संसदीय लोकतान्त्रिक व्यवस्थाको संरक्षणसहित संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुपर्नेमा जोड दिए। यससँगै उनले संविधान दिवसले मुलुकलाई समुन्नति र समृद्धिको बाटोमा अघि बढ्ने प्रेरणा दिने विश्वास पनि व्यक्त गरे।
संविधान दिवसको अवसरमा महान शहिदहरूको बलिदानप्रति उच्च सम्मान व्यक्त गर्दै देउवाले उनीहरूको योगदानलाई कदर गर्दै संविधान दिवसको हार्दिक शुभकामना व्यक्त गरेका छन्।





सम्बन्धित खवर















