
काठमाडौँ, असोज ३ । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष पनि विशेष कार्यक्रमका साथ मनाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा सैनिक मञ्च, टुँडिखेलमा आयोजित मूल समारोहमार्फत दिवस मनाइएको हो ।
कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो ।
हालैको जेन जेड आन्दोलनपश्चात् सिर्जित विशेष राजनीतिक परिस्थितिका कारण यस वर्षको कार्यक्रममा विगतमा जस्तै सांस्कृतिक झाँकीलगायत प्रस्तुतिहरू भने समावेश गरिएको छैन ।
नेपालको संविधान २०७२ असोज ३ गते संविधानसभाबाट घोषणा भएको हो । दोस्रो संविधानसभा निर्वाचनपश्चात् गठित संविधानसभाले लामो छलफल र विवादपछि अथक परिश्रममार्फत संविधान जारी गरेको हो ।











