कास्की कांग्रेस सदस्य विष्णु अधिकारीद्वारा पार्टी रुपान्तरण, आन्तरिक छानबिन र सभापतिका घरबारे सत्यतथ्य सार्वजनिक गर्न लिखित प्रस्ताव
- September 19, 2025
- 2394

कास्की — नेपाली कांग्रेस, कास्की जिल्ला कार्यसमिति सदस्य विष्णु अधिकारीले शुक्रबार सम्पन्न जिल्ला समितिको बैठकमा भौतिक रूपमा उपस्थित हुन नसके पनि काठमाडौंबाट पेश गरेको लिखित प्रस्तावमार्फत पार्टीको रुपान्तरण, आन्तरिक छानबिन तथा सभापति शेरबहादुर देउवाको परिवारसम्बन्धी समाचारबारे सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन्।
अधिकारीले कार्यवाहक सभापति तथा कार्यसमितिका सम्पूर्ण सदस्यहरुलाइ सम्बोधन गर्दै आफ्नो प्रस्तावमा प्रारम्भमा पार्टीको गौरवशाली इतिहास र हालको संवेदनशील राजनीतिक परिस्थितिको चर्चा गर्दै भनेका छन् कि पुरानो सोच र शैलीले अब नेपाली कांग्रेस अगाडि बढ्न सक्दैन र हालैको जेनजी आन्दोलनले त्यसको स्पष्ट संकेत गरेको बताउदै उनले पार्टीलाई “रुपान्तरण र सुशासन”तर्फ तत्काल अग्रसर गराउन निम्न प्रमुख कदम चाल्नुपर्ने जोड दिएका छन्।
अधिकारले उठाएका मुख्य माग र सुझावहरू :
आन्तरिक छानबिन तथा सम्पत्ति छानबिन समिति गठन : २०४६ सालपछि पदमा रहँदा वा राजनीतिक नियुक्ति पाए पछि शङ्कास्पद ढंगले आर्जित सम्पत्तिको उच्चस्तरीय छानबिन गर्न समिति गठन गरिनुपर्ने। बी.पी. कोइरालाका उदाहरण (तत्कालिन पारिश्रमिक कटौती र नैतिक राजनीति) उल्लेख गर्दै यस्तो पारदर्शिताको आवश्यकता औँल्याएका छन्।
पुस्तान्तरण र नेतृत्व हस्तान्तरण : नेतृत्व अब नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने र पार्टीलाई पुरानो शैलीबाट नयाँ ढाँचामा रूपान्तरण गर्नुपर्ने, पार्टीभित्र आन्तरिक लोकतन्त्र बलियो बनाउन “‘एक व्यक्ति — एक पद'” सिद्धान्त कडाइका साथ लागू गर्नुपर्ने।
बिपिको आदर्श महिला नीति र नैतिक राजनीतिमा फर्किनुपर्ने आग्रह : नेताहरूको जीवनशैलीमा आएको परिवर्तनले जनविश्वास घटाएको उल्लेख गर्दै नैतिक राजनीति र सादगीपूर्ण जीवनशैली पालना गर्नुपर्ने भनाइ राखिएको छ।
उनले भाद्र २३ र २४ को जेनजी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाहरुले कास्की जिल्लामा समेत व्यापक धनजनको क्षति पुगेको र सरकारी तथा दल कार्यालयहरू क्षतिसँग जुधेको बताए। विशेष गरेर नेपाली कांग्रेस र नेकपा एमालेका जिल्ला कार्यालय क्षति हुनु र केही पार्टी नेता तथा व्यापारीक प्रतिष्ठानमा आक्रमण हुनु क्षम्य नभएको भन्दै उनले दोषीहरू विरुद्ध सरकारसँग मिलेर आवश्यक छानबिन र कारबाही गरी पीडितलाई न्याय दिनुपर्ने माग उठाएका छन्। यसै क्रममा गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा खेलकुद मन्त्री बिन्दु कुमार थापामाथि गरिएको लक्षित आक्रमण प्रति पनि विरोध जनाएका छन् ।
अधिकारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरसम्बन्धी नकारात्मक समाचारप्रति सत्यतथ्य सार्वजनिक गर्नुपर्ने र यदि कुनै सत्यता देखिए कानुनी र आन्तरिक प्रक्रियाद्वारा छानबिन अघि बढाउनुपर्ने, तथापि ती समाचार झूटो साबित भए भने भ्रामक समाचार प्रकाशन गर्ने संघसंस्थाहरूप्रति आवश्यक कारबाही गर्न सरकारसँग सहकार्य गर्नुपर्ने पनि प्रस्तावमा समावेश छ। जेनजी आन्दोलनको क्रममा सभापति र उनका धर्मपत्नीप्रति गरिएको अपमानप्रति उनले दुःख व्यक्त गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
उनले प्रस्तावको अन्त्यमा युवाहरुलाई दबाउने होइन, पार्टीभित्र समेटेर प्रभावकारी रणनीति बनाउनु पर्ने र सामाजिक सञ्जालमा नियन्त्रण नराखी सही सूचना र विचारको प्रवाहमार्फत युवाहरुसँग जोडिनुपर्ने जोड दिएका छन्। साथै जेनजी आन्दोलनमा शहादतप्राप्त सबै सहिदप्रति श्रद्धाञ्जली तथा घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत व्यक्त गरेका छन्।
विष्णु अधिकारीले आफ्नो लेखिएको प्रस्ताव बैठकमा गम्भीरतापूर्वक विचार गरी पार्टीहितमा आवश्यक कदम चालिने आशा व्यक्त गरेका छन्।













