
पोखरा – लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालले दोस्रो क्याविनेट बैठक आगामी असोज २४ र २५ गते पोखरामा आयोजना गर्ने भएको छ । नेपालका १५ डिष्ट्रिक्टमध्ये सक्रिय र प्रभावशाली मानिने यो डिष्ट्रिक्टको क्याविनेट बैठकमा करिब १ हजार २ सय सदस्य सहभागी हुने अनुमान गरिएको छ ।
लायन्स क्लब अफ पोखरा अञ्जुलीको स्थानीय व्यवस्थापनमा हुने बैठकका लागि विभिन्न २२ वटा उपसमिति गठन गरिएका छन् । शनिवार बैठक तयारीका लागि सचिवालय उद्घाटन कार्यक्रम सम्पन्न भएको हो, जसको उद्घाटन डिष्ट्रिक्टका द्वितीय भाइस गर्भनर शैलेन्द्र मोहन भट्टराईले गरेका थिए । सचिवालय उद्घाटन कार्यक्रममा पूर्व डिष्ट्रिक्ट गर्भनरद्धय चन्द्र कुमार केसी राम बहादुर बसेललगाएत क्याबिनेटका सिनियर लायन्स लिडर तथा क्लबका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
बैठक मूल आयोजक समितिका संयोजक अमृत शोभा खत्रीका अनुसार, बैठकलाई सभ्य र भव्य बनाउन क्लब पदाधिकारी, सल्लाहकार समिति, स्टेरिङ समिति, सचिवालय, अर्थ संकलन, स्मारिका प्रकाशनदेखि स्वागत सत्कार, आवास, खानपान, सांस्कृतिक कार्यक्रमलगायतका उपसमिति सक्रिय गरिएका छन् ।
गण्डकी र बाग्मती क्षेत्रका लागि प्रि–रजिष्ट्रेशन संयोजक तोकिएसँगै सदस्यहरूको दर्ता प्रक्रिया तीव्र भइरहेको छ । बैठकले कार्यकाल प्रारम्भपछि सम्पन्न भएका गतिविधिको समीक्षा गर्दै आगामी एजेण्डामा छलफल गर्नेछ ।
भाइस डिष्ट्रिक्ट गर्भनर भट्टराईका अनुसार, पोखरा–११ फुलवारीस्थित एस.आर.के.सी. बेन्कुइटमा सम्पन्न हुने यो बैठकलाई पोखराको पर्यटन प्रवर्द्धनसँगै अन्तर्राष्ट्रिय स्तरमा लैजाने एजेण्डाका छलफल गर्ने अवसरको रूपमा उपयोग गरिनेछ । वर्षमा चार पटक हुने क्याविनेट बैठकमध्ये यो दोस्रो तथा ‘बिजनेस मिटिङ’ हो ।









