
पोखरा भ्यूज,
अन्नपुर्ण, कास्की (४ असोज) । विश्व मुटु दिवस (सेप्टेम्बर २९) को अवसर पारेर अन्नपूर्ण गाउँपालिका–२, ढिकुरपोखरीस्थित अन्नपूर्ण आधारभूत अस्पतालमा निःशुल्क मुटु स्वास्थ्य शिविर सम्पन्न भएको छ।
स्वस्थ मुटु नेपालको प्राविधिक सहयोगमा गाउँपालिकाको स्थानीय व्यवस्थापनमा आयोजना गरिएको उक्त शिविरमा ३ सय ८४ जना सेवाग्राहीले प्रत्यक्ष लाभ उठाएका छन्। शिविरमा आएका मध्ये २ सय २४ जनाको इको, २ सय ४९ जनाको ईसिजि परीक्षण गरिनुका साथै निःशुल्क औषधि वितरण गरिएको स्वस्थ मुटु नेपालका सचिव प्रकाश विक्रम जिसीले जानकारी दिए।

शिविरमा मनमोहन कार्डियोथोरासिक भास्कुल तथा ट्रान्सप्लान्ट सेन्टर काठमाडौंका वरिष्ठ मुटु रोग विशेषज्ञ डा. सूर्य देवकोटासहितको चिकित्सक टोलीमा डा. मनीष दाहाल, डा.श्याम ढोदारी, डा.सौगात अधिकारी / टेक्निसियन यम बहादुर कुमाल, अन्नपुर्ण-१ घर भएका डा. आशिष अधिकारी, अन्नपुर्ण-४ घर भएका डा. आशिष पौडेल, अन्नपुर्ण आधारभूत अस्पतालका डा.सोनी केसी, गण्डकी मेडिकल कलेजका डा. मधु रोका र डा. प्रेना पराजुली लगायतको चिकित्सक टोलीसहित अन्नपूर्ण आधारभूत अस्पतालका सम्पूर्ण स्वास्थ्यकर्मी सहित प्राविधिक समूह खटिएको थियो।
शिविरमा सहभागीलाई निःशुल्क परीक्षण र औषधि वितरणसँगै मुटु रोगसम्बन्धी सचेतनामूलक सन्देश पनि दिइएको थियो। मुटु रोगका कारण, रोकथाम र उपचारका उपायबारे विज्ञ चिकित्सकहरूले सेवा ग्राहीलाई जानकारी गराएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले गाउँमै विशेषज्ञ टोलीसहितको स्वास्थ्य शिविर आउनु ठूलो अवसर भएको भन्दै यसलाई सदुपयोग गर्न स्थानीयवासीलाई आग्रह गरे।
त्यस्तै, स्वस्थ मुटु नेपालका अध्यक्ष डा. सूर्य देवकोटाले व्यस्त जीवनशैली, असन्तुलित खानपान, उच्च रक्तचाप, मधुमेह, धुम्रपान, मद्यपान, तौल असन्तुलन र व्यायामको कमी मुटु रोगका प्रमुख कारण भएको बताए। उनका अनुसार स्वस्थ खानपान, नियमित व्यायाम, पर्याप्त आराम तथा सचेतनाले मुटुरोग नियन्त्रण गर्न सकिन्छ।

शिविर सफलताका लागि टाइगर ग्रुप अफ पोखरा नेपाल, जयन्ती मेमोरियल ट्रस्ट नेपाल, ग्रीन सिटी हस्पिटल काठमाँड़ौ, होटल पिस प्लाजासहित विभिन्न संस्थाले सहयोग गरेका थिए।
कार्यक्रमको अध्यक्षता डा. सूर्य देवकोटाले गरेका थिए भने उपाध्यक्ष भरतराज पराजुलीले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रम सञ्चालन डा. प्रेना पराजुलीले गरेकी थिइन्।










