
पोखरा। नेपाली कांग्रेस कास्की क्षेत्र नं. ३ का क्षेत्रीय सभापति मनोज गुरुङले वर्तमान अवस्थामा नेपाल गम्भीर राजनीतिक संकटमा परेको बताएका छन्। उनका अनुसार संविधानमाथि कालो बादल मडारिएको छ र २३–२४ गतेका घटनापछि बितेको एक साताभरि निकै सकसपूर्ण रह्यो, जसको अनुमान लगाउन पनि गाह्रो छ।
गुरुङले हाल नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा अस्पतालमा उपचाररत रहेको अवस्थालाई पार्टी एकताका लागि संवेदनशील घडी भन्दै विशेष महाधिवेशनको डंका पिट्ने प्रवृत्तिलाई असमयिक र आत्मघाती बताएका छन्। उनले भने-सभापति जीवन-मृत्युसँग लडिरहेको बेला विशेष महाधिवेशनको कुरा उठाउनु लोकरिझ्याइँ मात्र हो भन्ने कुरा इतिहासले पुष्टि गर्नेछ।
यसैबीच, गण्डकी प्रदेश कांग्रेस कार्यालयमा विशेष महाधिवेशनसम्बन्धी छलफल बसेको सुन्नमा आएको छ। उनले भने-जसमा उपस्थित १८ जना क्षेत्रीय सभापतिमध्ये विशेष महाधिवेशनका पक्षमा ५ जनाले मात्र हस्ताक्षर गरेका रहेछन्।
गुरुङले लोकतन्त्रमा विचारको महत्त्वलाई स्वीकार गर्दै पनि अप्ठ्यारो परिस्थितिमा धैर्यता र एकताका साथ अघि बढ्नु नै बुद्धिमत्तापूर्ण निर्णय हुने बताए। उनले सबै काँग्रेसजनलाई एकढिक्का भएर केन्द्रीय समितिको निष्कर्षप्रति प्रतिबद्ध रहन आह्वान गर्दै “जय नेपाल” भनेका छन्।











