
पोखरा, १२ असोज । होटल संघ पोखरा नेपालले देश–विदेशका पाहुनालाई पोखरा भ्रमणका लागि आग्रह गरेको छ । हालैको जेन–जी आन्दोलनका कारण केही पर्यटकीय संरचनामा क्षति भए पनि पोखरा अझै सुरक्षित गन्तव्य भएको संघले स्पष्ट पारेको छ ।
दशैंको अवसरमा शुभकामना आदानप्रदान गर्न आयोजित कार्यक्रममा संघले संचारकर्मीमार्फत पाहुनासम्म सकारात्मक सन्देश पुर्याउन आग्रह गर्यो । अध्यक्ष लक्ष्मण सुवेदीले पोखराका आधा दर्जन पर्यटकीय प्रतिष्ठानमा क्षति पुगे पनि अन्य संरचना यथावत् सेवा दिने अवस्थामा रहेको जानकारी दिए ।
‘पोखरामा १,२०० होटलमा करिब ४० हजार बेड छन्,’ सुवेदीले भने, ‘सयौं रेष्टुराँ सेवाका लागि तत्पर छन् । यहाँ आउने पाहुनालाई कुनै समस्या हुने छैन ।’
उनले जेन–जी आन्दोलनले मुख्य पर्यटन मौसममा नकारात्मक असर पारे पनि उद्योग विस्तारै पुरानै लयमा फर्कने विश्वास व्यक्त गरे । होटल संघका तर्फबाट विदेशी र आन्तरिक पाहुनालाई आकर्षित गर्न विशेष छुटसहित स्वागत गर्न व्यवसायी तयार रहेको जानकारी दिइयो ।
काठमाडौँ, चितवन र बुटवल हुँदै पोखरा जोडिने सडक सुरक्षित र सहज रहेको उल्लेख गर्दै सुवेदीले ‘अहिले पाँच घण्टामै सडकमार्गबाट काठमाडौँ–पोखरा यात्रा सम्भव छ’ भने । हवाईमार्गमार्फत पनि राति अबेरसम्म पोखरा पुग्न सकिने सुविधा रहेको उनले जोडे ।
‘चाडपर्व सुरु भएकाले आन्तरिक पर्यटक बढ्ने अपेक्षा छ,’ सुवेदीले भने, ‘आन्दोलनका कारण केही समय पर्यटन शून्य भए पनि पुनः उठ्नेमा हामी ढुक्क छौं ।’ हाल पोखराका होटलमा पर्यटक अकुपेन्सी दर करिब २५ प्रतिशत रहेको संघले जनाएको छ ।
उनका अनुसार हिमाल खुल्न थालेको, पदयात्रामा आउने–जाने क्रम नरोकिएको र शान्ति–सुरक्षा पूर्ववत् रहेकाले पोखरा घुम्न उपयुक्त समय भएको हो ।
यसैगरी होटल संघ नेपालका केन्द्रीय सदस्य भरतराज पराजुलीले पनि भिडियो सन्देश जारी गर्दै पोखरा अझै जीवन्त र सुन्दर शहर रहेको बताए । उनले होटल, रेष्टुराँ र अन्य प्रतिष्ठान सेवामा तत्पर रहेको भन्दै हिमालमुनी हरियालीका बीच रमाउन पाहुनालाई पोखरा आउन आग्रह गरे ।








सम्बन्धित खवर
















