
पोखरा । लायन्स क्लब अफ पोखरा लेकसिटी स्पाउस क्लबले जेन्जी आन्दोलन (भदौ २३ र २४) का क्रममा क्षतिग्रस्त बनेको नदिपुर प्रहरी बिटलाई रंगरोगन गरेको छ ।
क्लबले ५६ हजार ४ सय २९ रुपैया बराबरको रंगरोगन प्रहरी बिटका प्रमुख प्रहरी सहायक निरीक्षक (प्र.सा.नि) दीपा आलेलाई हस्तान्तरण गरेको हो । युनाईटेड क्लब नदिपुरका अध्यक्ष नविन आलेसहित क्लब पदाधिकारीको स्थानीय संयोजनमा उक्त कार्यक्रम गरिएको स्पाउस क्लबका सदस्य बिमला श्रेष्ठले जानकारी दिईन् ।
४२ जना सदस्य रहेको स्पाउस क्लबमा ७ जनाको प्रत्यक्ष उपस्थिति रहेको थियो । सहभागी सदस्यहरूमा उर्मिला बस्नेत, बिमला श्रेष्ठ, सुभद्रा श्रेष्ठ, दुर्गा मर्सानी, निता बुद्वाचार्य, पूर्ण लक्ष्मी द्धा र निरा थापा रहेका थिए । उनीहरूले सामूहिक श्रमदानमार्फत रंगरोगन कार्यलाई सम्पन्न गरेका हुन् ।
कार्यक्रममा बोल्दै स्पाउस क्लबका सदस्य उर्मिला बस्नेतले “जहाँ आवश्यकता त्यहाँ लायन्स” भन्ने नारालाई आत्मसात गर्दै क्लबले निरन्तर सेवामूलक कार्य गर्दै आएको बताइन् । उनका अनुसार, सामाजिक सेवामार्फत समुदायमा सकारात्मक उदाहरण प्रस्तुत गर्नु नै स्पाउस क्लबको मुख्य उद्देश्य हो ।
लायन्स स्पाउस क्लबले विगतका वर्षहरूमा समेत पोखराको विभिन्न क्षेत्रमा शिक्षा, स्वास्थ्य र पूर्वाधारमा योगदान पुर्याउँदै आएको छ । यसपटकको कार्यले समुदाय र सुरक्षाकर्मीबीच सहकार्य र आपसी विश्वास थप बलियो बनाउने अपेक्षा गरिएको छ ।











