गण्डकी प्रदेश आपतकालीन स्वास्थ्य सञ्चालन केन्द्रद्वारा आकस्मिक अवस्था उत्पन्न भएमा नजिकैको स्वास्थ्य संस्थाबाट सेवा लिन आग्रह
- October 4, 2025
- 1278

पोखरा, असोज १८। गण्डकी प्रदेश आपतकालीन स्वास्थ्य सञ्चालन केन्द्रले असोज १८ देखि २० गतेसम्म प्रदेशभरि भारी वर्षा र बाढी–पहिरोको उच्च जोखिम रहेको भन्दै अत्यावश्यक सूचना जारी गरेको छ। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार पश्चिमी र मध्य क्षेत्रका जिल्लाहरूमा निरन्तर वर्षा भई नदी–नालामा पानीको सतह बढ्ने र बाढी–पहिरोको जोखिम अत्यधिक हुने चेतावनी दिइएको हो।
प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक बुद्धिसागर अधिकारीले आकस्मिक अवस्था उत्पन्न भएमा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरी आवश्यक सेवा लिन सकिने जनाउँदै सबै नागरिकलाई सतर्क रहन अपील गरेका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले समेत यही अवधिमा वर्षाका कारण विभिन्न स्थानमा यात्रा अवरुद्ध हुने, पुल–पुलिया तथा सडक क्षति हुने र जनधनको क्षति हुने सम्भावना रहेको जनाएको छ। असोज १८, १९ र २० गतेसम्म अत्यावश्यकबाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।
प्रदेशका नारायणीसहितका मुख्य नदीहरूमा पानीको सतह बढ्ने सम्भावना रहेकाले नदी किनार नजिक बस्तीमा बसोबास गर्नेहरूलाई विशेष सतर्कता अपनाउन निर्देशन दिइएको छ। स्थानीय तह, सुरक्षाकर्मी र विपद् व्यवस्थापनसँग समन्वय गरेर सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ।
यसैबीच, गण्डकी प्रदेशका अस्पतालहरू आकस्मिक सेवाका लागि उच्च सतर्कतामा राखिएका छन्। प्रदेशका जिल्ला अस्पताल, मातृशिशु मित्र अस्पताल कास्की, धौलागिरी अस्पताल बागलुङ, मध्यविन्दु अस्पताल नवलपुरलगायत स्वास्थ्य संस्था तयारी अवस्थामा रहेको जनाइएको छ। आकस्मिक अवस्थामा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरी उपचार सेवा लिन आग्रह गरिएको छ।
आफ्नो सुरक्षालाई प्राथमिकतामा राख्दै बाढी–पहिरो प्रभावित क्षेत्रमा नजान र सम्भावित जोखिमका गतिविधिबाट टाढा रहन आपतकालीन स्वास्थ्य सञ्चालन केन्द्रले सबै नागरिकलाई अपील गरेको छ। साथै, आकस्मिक अवस्थामा हेल्पलाइन नम्बर १००, १०१, १०२, १०३ मा सम्पर्क गर्न सकिने जनाइएको छ।









