
पोखरा । स्थगित गण्डकी प्रदेश सभाको बैठक असोज २२ गते दिउँसो १ बजे बस्ने भएको छ । प्रदेश सभा सचिव गोविन्द पौडेलले आज जारी गरेको सूचनामा सभामुखले नयाँ मिति र स्थान तोकेको जनाइएको छ । बैठक भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको मालेपाटनस्थित सभाहलमा हुने भएको हो ।
यसअघि गत भदौ २५ गतेका लागि तोकिएको बैठक ‘जेन्जी आन्दोलन’का कारण उत्पन्न परिस्थितिले अनिश्चितकालका लागि स्थगित गरिएको थियो । सो क्रममा प्रदेश सभा हल र सचिवालय भवनमा आगजनी हुँदा भवन पूर्णरूपमा क्षतिग्रस्त बनेको थियो । फलस्वरूप हालसम्म अधिकांश प्रशासनिक कामकाज विभिन्न मन्त्रालयका अस्थायी कक्षमा सारेर सञ्चालन हुँदै आएको छ ।
प्रदेश सभा सचिवालयका अनुसार स्थायी हलको पुनःनिर्माणका लागि प्रारम्भिक मूल्याङ्कन भइसकेको छ र आवश्यक बजेट छुट्याउने तयारी भइरहेको छ । यता सभामुख कृष्णप्रसाद धितालको निर्देशनअनुसार वैकल्पिक भवनको खोजी गरिएको थियो । सुरक्षा निकाय र प्राविधिक टोलीको सुझावअनुसार मालेपाटनस्थित मन्त्रालय भवनलाई अस्थायी रूपमा उपयुक्त मानिएको हो ।
हाल उक्त सभाहलमा ध्वनि प्रणाली, बैठक व्यवस्था र सुरक्षा तयारीका केही प्राविधिक काम बाँकी रहेका छन् । सचिवालयले ती सबै काम बैठक अघि सम्पन्न हुने विश्वास व्यक्त गरेको छ ।











