
काठमाडौं, असोज १९ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि मौसम चेतावनी जारी गर्दै कोशी र मधेस प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
महाशाखाले असोज १९ बिहान ६:०० बजेदेखि असोज २० बिहान ६:०० बजेसम्मको पूर्वानुमान जारी गर्दै हाल बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा (मनसुनी वायु) को प्रभाव नेपालभर कायम रहेको जनाएको छ। यस कारण देशभर सामान्यतया वर्षा हुने देखिएको हो।
बुलेटिनअनुसार, कोशी र मधेस प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुने अनुमान छ। साथै कोशी र मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको चेतावनी दिइएको छ।
यस्तै, आज कोशी, मधेस, बागमती प्रदेशलगायतका पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने लुम्बिनी प्रदेशमा पनि साधारण बदली र बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।
महाशाखाले वर्षासँगै बाढी, पहिरो तथा भू–स्खलनको जोखिम बढ्न सक्ने भएकाले सतर्क रहन समेत सबैलाई आग्रह गरेको छ।











