
काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विस्तृत कार्यतालिका स्वीकृत गरेको छ। आयोगले सोमबार जारी गरेको कार्यतालिकाअनुसार निर्वाचनका सबै तयारी तथा प्रक्रिया निर्धारित समयमा सञ्चालन हुनेछन्।
कार्यतालिकाअनुसार राजनीतिक दल दर्ता मङ्सिर १ गतेदेखि १० गतेसम्म हुने जनाएको छ। पहिलो हुने निर्वाचक प्रणाली (प्रत्यक्ष) का लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
आयोगले नयाँ दल दर्तादेखि उम्मेदवारी मनोनयन, मतदान र प्रचारप्रसारसम्मका सबै कार्यक्रम सार्वजनिक गरेको छ। प्रचारप्रसार अवधि फागुन ३ गतेदेखि १८ गतेसम्म तोकिएको छ भने फागुन १८ गतेदेखि मौन अवधि लागू हुनेछ।
निर्वाचनको दिन फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने र मतपेटिका सङ्कलनपछि मतगणना सुरु गरिने आयोगले जनाएको छ।
समानुपातिक निर्वाचन प्रणालीका लागि मङ्सिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र पुस १८ र १९ गते दलहरूले बन्दसूची पेस गर्ने कार्यक्रम तय गरिएको आयोगले जानकारी दिएको छ।







सम्बन्धित खवर
















