
पोखरा । कास्कीको रुपा गाउँपालिका–५ डोटेलकुनाका शिखरनाथ ढुंगानाकी धर्मपत्नी स्थानीय सामाजिक एवं धार्मिक व्यक्तित्व धनमाया ढुंगानाको ८३ वर्षको उमेरमा निधन भएको छ।
गाउँबाट छोरा विष्णुप्रसाद ढुंगानाको पोखरा महानगरपालिका–११,फूलबारीस्थित घरमा दशैं मनाउने तयारीका क्रममा नवमीको दिन उनको निधन भएको हो। निधनपछि ढुंगाना परिवार शोकमा परेको छ।
परिवारका सदस्यहरूबीच खाना खाने क्रममा ढुंगानालाई अचानक सर्को परेपछि श्वासप्रश्वासमा समस्या उत्पन्न भएको थियो। तत्काल मणिपाल शिक्षण अस्पताल लगिए पनि डाक्टरले उपचार सुरु गर्नुअघि नै निधन भइसकेको ढुंगानाकी माइली बुहारी अम्बिका गौतम ढुंगानाले बताइन्। उनका अनुसार घर र मणिपाल अस्पतालबीचको दुरी करिब एक किलोमिटर मात्र हो।
स्व. ढुंगानाका जेठा छोरा हरिश्चन्द्र ढुंगाना लामो समय न्याय सेवामा संलग्न छन्, माइला छोरा विष्णुप्रसाद अमरसिंह मावि पोखरामा शिक्षकका रूपमा कार्यरत छन् भने कान्छा छोरा कपिल ढुंगाना हाल क्यानडामा बसोबास गर्दै आएका छन्। उनकी एक छोरी विष्णुमाया ढुंगाना पोखरेल रहेकी छन्।
माईली बुहारी अम्बिका गौतम ढुंगाना नेपाली काँग्रेस सम्बद्ध नेपाल महिला संघ पोखरा महानगर समितिकी सभापति तथा नेपाल वृन्दावन धाम कास्कीकी कोषाध्यक्षसमेत हुन्।









