15Shares

पोखरा। नेपाली काँग्रेस सूचना, सञ्चार तथा प्रचार विभागका सदस्य एवम् युवा नेता गंगाधर पराजुलीले पार्टीभित्र देखिएका विवाद, संगठनात्मक कमजोरी र आगामी १५औँ महाधिवेशनका तयारीबारे विस्तृत रोडम्याप सार्वजनिक गरेका छन्। उनले मुलुकको वर्तमान राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै पार्टीले अब ढिलाइ नगरी महाधिवेशनमा केन्द्रित हुनुपर्ने बताएका छन्।

पराजुलीले मुलुकको सबैभन्दा पुरानो र लोकतन्त्रको अग्रदूत पार्टी नेपाली काँग्रेसले अब पुनर्गठन र सुदृढीकरणको दिशामा ठोस कदम चाल्नुपर्ने समय आएको बताएका छन्। उनका अनुसार, तीन महिनाभित्र पार्टीको १५औँ महाधिवेशन सम्पन्न गरी नयाँ ऊर्जासहित देशको नेतृत्व लिन काँग्रेस सक्षम छ।

पराजुलीले पहिलो चरणमा एक महिनाभित्र पुराना र नयाँ सक्रिय सदस्यता टुंग्याउनुपर्ने बताएका छन्। नयाँ सदस्यता वितरणमा जेनजी पुस्ताको सहभागिता सुनिश्चित गर्नुपर्ने उल्लेख गर्दै उनले युवाहरूमाझ काँग्रेसप्रतिको आकर्षण बढाउने योजना अघि सारेका छन्।

उनका अनुसार, सदस्यता प्रक्रिया सकिएलगत्तै टोल, वडा, पालिका, क्षेत्र, जिल्ला र प्रदेश अधिवेशन क्रमशः एक महिनाभित्र सम्पन्न गर्न सकिनेछ। त्यसपछि एक महिनाको तयारी अवधि लिएर पुष अन्त्य वा माघ सुरुमा १५औँ महाधिवेशन सम्पन्न गर्न सकिने पराजुलीको प्रस्ताव छ।

पराजुलीले पार्टीको संगठनात्मक संरचनामा पारदर्शिता कायम गर्न जिल्ला र प्रदेश समितिद्वारा सदस्यता फाइनल गरी केन्द्रीय अभिलेखमा पठाउने व्यवस्था गर्न सुझाव दिएका छन्। उनले तल्लो तहबाट निर्वाचित भएर मात्रै केन्द्रमा पुग्ने व्यवस्था गर्नुपर्ने र मनोनयन प्रणालीलाई सीमित अवधिसम्म मात्र प्रयोग गर्नुपर्ने धारणा राखेका छन्।

हालको परिस्थितिमा विशेष महाधिवेशनको सट्टा नियमित १५औँ महाधिवेशनमै ध्यान केन्द्रित गर्नु उपयुक्त हुने पराजुलीको निष्कर्ष छ। उनका अनुसार, विशेष महाधिवेशनबाट निर्वाचित समिति सीमित अवधिका लागि मात्र हुने भएकाले त्यसले पार्टीमा दीर्घकालीन स्थायित्व ल्याउन सक्दैन।

पराजुलीले काँग्रेसभित्र फैलिएको गुटबन्दी र मतभेद अन्त्यका लागि शीर्ष नेताहरूबीच अग्रिम समझदारी र सहमति आवश्यक रहेको बताएका छन्। “पार्टी नेतृत्व, सरकार सञ्चालन र राष्ट्रप्रमुखको भूमिकामा स्पष्ट समझदारी बनेमा पार्टीभित्र ऊर्जा र एकता पुनर्स्थापित हुनेछ,” उनले भने।

देशको राजनीतिक अस्थिरता अन्त्यका लागि पराजुलीले काँग्रेसले अन्य दलसँग संवाद गरी गोलमेच सम्मेलन आयोजना गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। आवश्यक परे जनमत संग्रहको विकल्प पनि खुला राख्दै, मुलुकमा सर्वदलीय वा सर्वपक्षीय राष्ट्रिय सरकार गठनको नेतृत्व काँग्रेसले लिनुपर्ने उनको सुझाव छ।

भदौ २३–२४ का आन्दोलनका क्रममा भएका गोलीकाण्ड, आगजनी, लुटपाट र आक्रमण घटनामा संलग्न व्यक्तिहरूमाथि निष्पक्ष छानबिन र कारबाहीको माग पनि पराजुलीले गरेका छन्। उनले पार्टीले नागरिक अधिकार र मानव अधिकारका पक्षमा सशक्त आवाज उठाउनुपर्ने बताए।

उनका अनुसार, काँग्रेसले संगठन पुनर्गठनसँगै पार्टीभित्रको असन्तोष र विभाजन अन्त्य गरी संगठनात्मक सुदृढीकरण र सुधारमा केन्द्रित हुनुपर्ने छ। उनले जनस्तरमा पार्टीको विश्वास पुनःस्थापना गर्नका लागि स्पष्ट योजना र परिणाममुखी कार्यनीति आवश्यक रहेको उल्लेख गरे।

गंगाधर पराजुलीका अनुसार यी ठोस सुझावहरूलाई काँग्रेस नेतृत्वले सकारात्मक रूपमा ग्रहण गरी आगामी केन्द्रीय समितिको बैठकमा प्राथमिक एजेन्डाका रूपमा छलफल गर्नुपर्ने देखिन्छ। उनका प्रस्तावहरूले काँग्रेसभित्र नयाँ जोश, संगठनमा पारदर्शिता र राष्ट्रिय राजनीतिमा निर्णायक भूमिकाको बाटो खोल्ने अपेक्षा गरिएको छ।

15Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected