
कालीगण्डकीको उत्तरतर्फ बगेको दुर्लभ प्रवाहलाई विश्वभर चिनाउने उद्देश्यले कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानले धर्मोत्सव आयोजना गरेको हो । प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्णका अनुसार, उत्तरवाहिनी क्षेत्र धार्मिक, सांस्कृतिक र वैज्ञानिक दृष्टिले अत्यन्त पवित्र भएकाले यसको प्रचारप्रसार र संरक्षणमा सहयोग पुगोस् भन्ने हेतुले महामेला गरिएको हो ।
स्याङ्जाको गल्याङ नगरपालिका–१ मालुङ्गा र पाल्पाको रम्भा गाउँपालिका–१ असेर्दीको संगमस्थलमा सुरु भएको मेलामा प्राकृतिक रूपमा ‘ऊँ’ लेखिएको चक्रशिलाको दर्शन, ३.५ किलोमिटर उत्तरतर्फ बगेको कालीगण्डकीमा स्नान, २० फिट अग्लो भगवान शिवको शालिक दर्शन र १०८ धारामा नुहाउने व्यवस्था मिलाइएको छ ।
धर्मोत्सव अवधिभर १८ पुराण र सहस्रचण्डीपाठ अनुष्ठान, सवालाख शालग्राम दर्शन, साथै लोकभजन, वकृत्वकला, निबन्ध र कविता प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ । महामेलामा नेपाल र भारतका प्रसिद्ध सन्त–गुरुहरू सहभागी हुने र झण्डै एक करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
महामेलाको उद्घाटन गल्याङ नगर प्रमुख गुरुप्रसाद भट्टराईले गरेका हुन् । उनले गल्याङको पहिचानसँग जोडिएको उत्तरवाहिनी क्षेत्र धर्म, संस्कृति र पर्यटनको दृष्टिले नयाँ गन्तव्य बन्ने विश्वास व्यक्त गरे ।
आयोजकका संरक्षक शंकरप्रसाद पाण्डेका अनुसार, उत्तरवाहिनी क्षेत्र स्याङ्जा–पाल्पा मात्रै नभई गण्डकी र लुम्बिनी दुबै प्रदेशका लागि ऐतिहासिक तीर्थस्थल बन्नेछ । कालीगण्डकी उत्तरतर्फ बगेकी हुनाले यस स्थानलाई सर्वतीर्थको रूपमा पूजा गर्ने परम्परा रहिआएको छ ।







सम्बन्धित खवर
















