
पोखरा, २३ असोज । पोखरा उद्योग वाणिज्य संघले जग्गाको श्रेस्ता कायम गर्नका लागि जिल्ला मालपोत कार्यालय कास्कीले जारी गरेको सूचना सच्याउन माग गरेको छ। संघले सो सूचना अत्यधिक झन्झटिलो र व्यवहारिक नभएको भन्दै सच्याउन आग्रह गरेको हो।
संघका अध्यक्ष गोकर्ण कार्कीको नेतृत्वमा महासचिव शोभा गौतम र उपमहासचिव सुदीप प्रधानाङ्गसहितको प्रतिनिधिमण्डलले बिहीबार जिल्ला मालपोत कार्यालय कास्कीका निमित्त प्रमुख शोभाखर पौडेललाई ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्रमा मालपोत कार्यालयले माग गरेका ११ प्रकारका कागजात र प्रमाणहरू अत्यधिक जटिल र अव्यवहारिक रहेको उल्लेख गरिएको छ।
मालपोत कार्यालय कास्कीले हालै सूचना जारी गर्दै जग्गाधनीले आफ्नो जग्गाको दर्ता श्रेस्ता पुनः कायम गर्नका लागि स्थानीय तहबाट भोगसम्बन्धी किटानी सिफारिस, तीन पुस्ते खुलेको फोटो टाँससहितको किटानी सिफारिस, स्थलगत सर्जमिन मुचुल्का, नागरिकता, सक्कल पुर्जा, पारित लिखत, रोक्का भएमा सहमतिपत्र लगायतका ११ कागजात पेस गर्नुपर्ने जनाएको थियो।
संघले सो सूचना सर्वसाधारणमा त्रास सिर्जना गर्ने खालको भएको बताएको छ। अध्यक्ष कार्कीको हस्ताक्षर गरिएको ज्ञापनपत्रमा गलत व्यक्तिले दुरुपयोग गर्न नपाउने गरी न्यूनतम आधिकारिक प्रमाणका आधारमा श्रेस्ता कायम गर्न सकिने र हालको व्यवस्था झन्झटिलो भएकाले सच्याउनुपर्ने उल्लेख छ।
प्रतिनिधिमण्डलले सो ज्ञापनपत्रको बोधार्थ कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई समेत बुझाउँदै सहजीकरणका लागि आग्रह गरेको महासचिव शोभा गौतमले जानकारी दिइन्। उनले हाल जिल्ला मालपोत कार्यालयको भवन जलेको र झण्डै तीन लाख सेवाग्राहीको लालपूर्जा तत्काल बनाउन नसकिने स्थिति रहेको बताइन्।
निमित्त प्रमुख शोभाखर पौडेलले यसअघिको व्यवस्था अनुसार नै सूचना जारी भएको र जसको सक्कल लालपूर्जा रहेको छ, उनीहरूले कुनै चिन्ता लिन नपर्ने स्पष्ट पारेका छन्। संघको आग्रहपछि मालपोत कार्यालय कास्कीले अर्को सूचना जारी गर्दै अहिले कार्यालयको भौतिक पूर्वाधार जलेको कारण तत्काल सेवा प्रवाह गर्न नसकिने र अर्को सूचना जारी नभएसम्म सबै प्रकारका सेवा स्थगित गरिएको जनाएको छ।







सम्बन्धित खवर
















