38Shares

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले देश, जनता, लोकतन्त्र र संविधानको रक्षाका लागि आगामी प्रतिनिधिसभा निर्वाचनमा सबै राजनीतिक दलहरू एकताबद्ध भएर लाग्नुपर्ने बताउनुभएको छ। उहाँले निर्वाचन नै वर्तमान अवस्थाबाट देशलाई निकाल्ने एक मात्र विकल्प भएको स्पष्ट गर्दै तोकिएको मिति फागुन २१ गते हुने निर्वाचनमा सबै दलहरू केन्द्रीत हुन आग्रह गर्नुभएको हो।

शुक्रवार शीतल निवासमा आह्वान गर्नुभएको अन्तरिम सरकारसहितको सर्वदलीय बैठकमा राष्ट्रपति पौडेलले शान्ति सुरक्षाको आवश्यक व्यवस्था गरी निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने विश्वसनीयता आम नागरिकमा जगाउन सरकारलाई सुझाव दिनुभएको राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो।

राष्ट्रपति पौडेलले लोकतन्त्रको रक्षाका लागि सबैले मिलेर निर्वाचन सफलतापूर्वक सम्पन्न गराउनुपर्ने बताउनुभयो। उहाँले राजनीतिक दलहरूमा कुनै द्धिविधा र अस्पष्टता भए खुला रूपमा राख्न आग्रह गर्दै “निर्वाचनबाहेक अन्य विकल्प खोज्न थालियो भने देश अस्थिरतातर्फ धकेलिन सक्छ” भन्ने चेतावनी पनि दिनुभयो। साथै, दलहरूले जनतामा भ्रम सृजना नगरी जेनजी पुस्ताका मागहरूसमेत सम्बोधन गर्न तयार रहेको सन्देश दिनुपर्नेमा जोड दिनुभयो।

बैठकमा सहभागी दलका नेताहरूले लोकतन्त्रमा आस्था राख्ने सबै दलहरू निर्वाचनमा जान सधैं तयार रहेको तर वर्तमान सुरक्षा व्यवस्थाले निष्पक्ष र स्वतन्त्र वातावरणमा निर्वाचन सम्भव हुने विषयमा संशय पैदा गरेको बताएका थिए। उनीहरूले सरकारलाई यो शंका र आशंका हटाउँदै निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने विश्वास दिलाउन आग्रह गरे।

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले दलहरूको सहभागिताविना निर्वाचन सम्भव नहुने भन्दै स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनका लागि आवश्यक शान्ति सुरक्षाको व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले जेनजी पुस्ताको असन्तुष्टि बुझेर परिवर्तनलाई आत्मसात गर्दै अघि बढ्न दलहरूलाई सुझाव पनि दिनुभयो।

बैठकमा अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीसहित सबै मन्त्रीहरू उपस्थित हुनुहुन्थ्यो।

सर्वदलीय बैठकमा प्रमुख दलका शीर्ष नेताहरू सहभागी भएका थिए। नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा, नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र सचिव वर्षमान पुन सहभागी हुनुहुन्थ्यो।

त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यबहाक सभापति डिपी अर्याल र सहमहामन्त्री विपिन कुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रवक्ता ज्ञानेन्द्र शाही र मिना लामा, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव धनश्याम भुषाल सहभागी हुनुहुन्थ्यो।

अन्य सहभागी दलहरूमा जनता समाजवादी पार्टीबाट रेनु यादव, जसपा नेपालबाट विद्युत बज्राचार्य र प्रकाश अधिकारी, जनमत पार्टीबाट डा. चन्द्रकान्त राउत र डा. जयकुमार राउत, लोकतान्त्रिक समाजवादी पार्टीबाट ज्ञानेन्द्र झा र सर्वेन्द्रनाथ शुक्ला, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी र नेपाल मजदुर किसान पार्टीबाट सुनिल प्रजापती सहभागी हुनुभएको थियो।

38Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected