
पोखरा, असोज २६ गते। बिकास नेपालको २१औं वार्षिक साधारण सभा आइतबार पोखरामा सम्पन्न भएको छ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि वडा नं १५ का वडाअध्यक्ष तोरण बहादुर बानियाँले स्थानीय तहको पहुँच नपुगेका स्थानमा समेत सेवा विस्तार गर्न गैरसरकारी संस्थाहरूको भूमिका महत्वपूर्ण रहेको बताए । उनले हरेक क्षेत्रमा इमान्दारिता र कर्मशीलता आवश्यक रहेको उल्लेख गर्दै यिनै गुणका माध्यमबाट मात्र समाजले तीव्र गतिमा प्रगति गर्न सक्ने धारणा राखे ।
कार्यक्रममा संस्थाका सल्लाहकार रमेश पौडेलले राज्यको ध्यान नपुगेका ठाउँहरूमा गैरसरकारी संस्थाहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए ।
त्यस्तै, गैसस महासंघ गण्डकी प्रदेशका इञ्चार्ज गोपाल खड्काले सरकारसँग सुदृढ समन्वय गर्दै अघि बढेमा अन्तर्राष्ट्रिय दातृ निकायहरू सहयोग गर्न अझ उत्साहित हुने बताए ।
संस्थाका निवर्तमान अध्यक्ष बुद्धि बहादुर थापाले बिकास नेपालले अपाङ्गता र कुष्ठरोग क्षेत्रका कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा अझ सशक्त ढंगले अगाडि बढ्नुपर्नेमा जोड दिए ।
सभामा संस्थाका सचिव बुद्धि बल रम्तेलले आ.व. ०८१/०८२ को वार्षिक प्रगति प्रतिवेदन तथा आ.व. ०८२/०८३ का लागि प्रस्तावित वार्षिक योजना प्रस्तुत गर्नुभयो। त्यस्तै, कोषाध्यक्ष शंकर पन्थले आ.व. ०८१/०८२ को आर्थिक प्रतिवेदन र आ.व. ०८२/०८३ को प्रस्तावित बजेट प्रस्तुत गर्नुभयो।
संस्थाका अध्यक्ष गणेश पाख्रीनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष विमला कुमारी केसीको स्वागत मन्तव्य रहेको थियो ।







सम्बन्धित खवर
















