
पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ ‘आई’ नेपालका डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डेको आह्वानमा “मानसिक स्वास्थ्य तथा वेल–विइङ सप्ताह २०२५” भब्यताका मनाइएको छ । विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा अक्टोबर ४ देखि १२ तारिखसम्म विविध कार्यक्रम सञ्चालन गरी मानसिक स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्य सम्पन्न गरिएकोे डिष्ट्रिक्ट ३२५ ‘आई’ नेपालका डिष्ट्रिक्ट क्याविनेट सेक्रेटरी राम बहादुर श्रेष्ठले जानकारी दिए ।
लायन्स अन्तर्राष्ट्रियले विश्वभर सञ्चालन गर्दै आएको मानसिक स्वास्थ्य तथा वेल–विइङ सप्ताहलाई नेपालमा पनि विशेष अभियानका रूपमा सञ्चालन गरी सम्पन्न गरिएको डिष्ट्रिक्ट ३२५ ‘आई’ नेपालका डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डेले बताईन् । यस अभियानले “मानसिक स्वास्थ्य हाम्रा लागि, हाम्रो समाजका लागि” भन्ने मूल सन्देशलाई अग्रसरता दिएको उनको दावी छ ।
मानसिक स्वास्थ्य हालको समयको अत्यन्त संवेदनशील र महत्वपूर्ण विषय हो, जसले व्यक्ति, परिवार र समुदायको भावनात्मक, सामाजिक तथा शारीरिक सन्तुलनमा गहिरो प्रभाव पार्दछ । मानसिक असन्तुलनका कारण आत्महत्या, डिप्रेसन, चिन्ता, सम्बन्ध विच्छेद, र कार्यक्षेत्रमा असफलताजस्ता गम्भीर समस्या देखापर्ने भएकाले यस विषयमा जनचेतना फैलाउन अभियानको विशेष आवश्यकता रहेको पाण्डेको भनाई छ ।
सप्ताहव्यापी अभियानअन्तर्गत विभिन्न विद्यालय, कलेज, स्वास्थ्य संस्था, सामाजिक संघसंस्था तथा समुदायमा सचेतनामूलक गतिविधिहरू आयोजना गरिएको पाण्डेले बताईन् । यस क्रममा महिला तथा गृहिणी, विद्यार्थी, शिक्षक, युवा तथा समुदायका प्रतिनिधिहरूमाझ मानसिक स्वास्थ्यका विषयमा अन्तरक्रिया, प्रशिक्षण, ध्यान साधना, र निःशुल्क काउन्सिलिङ कार्यक्रमहरू सम्पन्न भएको हो ।
साथै, सामाजिक सञ्जालमार्फत (फेसबुक, ईस्टाग्राम, टिकटक, ह्वाट्सप, मेसेन्जर आदि) “मानसिक स्वास्थ्य सन्देश अभियान” पनि सञ्चालन गरी भिडियो सन्देश, रील, कविता, नाटक, गीतजस्ता सिर्जनात्मक माध्यम प्रयोग गरी मानसिक स्वास्थ्यसम्बन्धी सन्देशहरूलाई फराकिलो पहुँचमा पु¥याउने लक्ष्य राखिएको पाण्डेको भनाई छ।

हाल देशका विभिन्न स्थानहरूमा लगातारको वर्षाका कारण सामुदायिक सभा र भेलाजस्ता प्रत्यक्ष कार्यक्रम सञ्चालन गर्न कठिन भएकाले, यस वर्ष डिष्ट्रिक्टले वैकल्पिक माध्यमहरू — अनलाइन अन्तक्र्रिया, डिजिटल क्याप्सुल, र सामाजिक मिडिया क्याम्पेन — मार्फत कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्न क्लबहरूलाई सुझाव समेत दिएको छ ।
डिष्ट्रिक्ट सचिवालयका अनुसार, प्रत्येक क्लबले आफ्नो क्षेत्रअनुसार कार्यक्रम सञ्चालन गरी प्रतिवेदनसहित विवरण डिष्ट्रिक्ट सचिवालयमा पठाउने व्यवस्था मिलाइएको क्याविनेट सेक्रेटरी श्रेष्ठले बताए । साथै, उत्कृष्ट र नवीनतम कार्यक्रम सञ्चालन गर्ने क्लबहरूलाई आउँदो कार्तिक १४ र१५ गते पोखरामा सम्पन्न हुन गईरहेको दोस्रो डिष्ट्रिक्ट क्याबिनेट बैठकमा सम्मान गरिन श्रेष्ठले बताए ।
डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डेले मानसिक स्वास्थ्य सचेतना आजको युगको आवश्यकता भएको उल्लेख गर्दै समाजका हरेक तह र तप्कामा सकारात्मक सोच, आत्मबल र सहानुभूतिको सन्देश फैलाउन लायन्स क्लबहरूलाई आह्वान गरेकी छन् ।







सम्बन्धित खवर
















