24Shares

काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले फागुन २१ गते तोकिएको निर्वाचन अघि नै पार्टीको महाधिवेशन गर्न माग गरेको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेविसंघले आगामी चुनावभन्दा अघि नियमित महाधिवेशन गरेर पार्टीलाई नयाँ दिशातर्फ अघि बढाउनुपर्ने आवश्यकता औंल्याएको हो ।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले पार्टीभित्रका युवाहरूको भावना बुझ्दै महाधिवेशनमार्फत पार्टीलाई “शुद्धिकरण अभियान” तर्फ अघि बढाउनुपर्ने बताए । उनले भ्रष्टाचार र बेथितिबाट मुक्त सुशासनयुक्त कांग्रेस निर्माण गर्न प्रत्येक तहका नेताकर्मीको सम्पत्ति विवरण प्रत्येक वर्ष सार्वजनिक गर्ने नीतिगत व्यवस्था गर्न माग गरे ।

गत असोज २५ गते प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पसमा बसेको नेविसंघ केन्द्रीय समितिको आकस्मिक बैठकले इकाइ सभापति, क्षेत्रीय सभापति, जिल्ला सभापति, केन्द्रीय सदस्य, पदाधिकारीदेखि पार्टी सभापतिसम्मको सम्पत्तिको अध्यावधिक विवरण प्रत्येक वर्ष सार्वजनिक गर्नुपर्ने माग पार्टीसमक्ष गर्ने निर्णय गरेको हो । बैठकका निर्णयहरु आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको थियो ।

शेर्पाले जेनजी आन्दोलनले उठाएका भ्रष्टाचार र वेतिथीविरुद्धका आवाजलाई संस्थागत अभियानका रूपमा अगाडि बढाइने स्पष्ट पारे । उनले उक्त आन्दोलनका क्रममा भएका घटनामा पूर्व प्रधानमन्त्री तथा तत्कालीन गृहमन्त्रीमाथि निष्पक्ष छानबिन गरी दोषी प्रमाणित भए कारबाही हुनुपर्ने माग गरे । साथै, काठमाडौं महानगर प्रमुख बालेन शाहमाथि पनि छानबिन गरिनुपर्ने उनको भनाइ थियो ।

अध्यक्ष शेर्पाले आन्दोलनका क्रममा सुनियोजित रूपमा कांग्रेस सभापति शेरबहादुर देउवा र सांसद आरजु राणामाथि भएको आक्रमणप्रति आपत्ति जनाउँदै त्यसमा संलग्नलाई कानूनी कारबाही गर्न सरकारसँग माग गरे ।

नेविसंघले देशको शान्ति, सुरक्षा र स्थायीत्व कायम गर्न जिम्मेवार सुरक्षा संयन्त्रको मनोबल बढाउने कदम चाल्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

24Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected