
पोखरा । जेनजी पुस्ताको नाममा भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा आगजनी गरिएपछि पूर्ण रूपमा सेवा ठप्प भएको जिल्ला मालपोत कार्यालय कास्की पुनः सञ्चालनतर्फ उन्मुख भएको छ। कार्यालयका अधिकांश भौतिक संरचना र अभिलेख जलेर नष्ट भएपछि सेवा सुचारुमा ढिलाइ भएको थियो।
अब भने कार्यालयले अस्थायी संरचना निर्माण गरी श्रेस्ता कायमसहितका सेवा क्रमशः सञ्चालन गर्ने तयारी थालेको छ। नष्ट भएका संरचना र अभिलेख पुनःस्थापना गर्न लामो समय लाग्ने भएकाले ‘काम चलाउ’ संरचनाबाट सेवा सुरु गर्न पहल भइरहेको हो।
मालपोत कार्यालय पुनः सञ्चालनमा ल्याउने अभियानको नेतृत्व नेपाल लेखापढी कानुन व्यवसायी समिति पोखरा ले गरेको छ। समितिमा आवद्ध व्यवसायीहरूले न्यूनतम पाँच हजार रुपैयाँका दरले सहयोग संकलन गरेका छन् भने विभिन्न व्यक्ति र संस्थाबाट समेत सहयोग प्राप्त भएको छ।
नेपाल लेखापढी कानुन व्यवसायी समितिका अध्यक्ष मौसम कार्कीका अनुसार व्यवसायी कालु गुरुङले पाँच लाख पाँच हजार रुपैयाँ सहयोग गरेका छन्। साथै, अन्य व्यक्तिहरू र संस्थाको सहयोगसहित करिब ३५ लाख रुपैयाँ बराबरका संरचना र सामग्री मालपोत कार्यालयलाई हस्तान्तरण गरिएको हो।
अध्यक्ष कार्कीका अनुसार पोखरा उद्योग वाणिज्य संघ, गण्डकी आवास तथा जग्गा विकास व्यवसायी समिति, र होटल व्यवसायी समितिबाट करिब १४ लाख रुपैयाँ बराबरको फर्निचर उपलब्ध गराइएको छ। त्यसैगरी, पोखरा रोयल सहकारी संस्था र जिल्ला सहकारी संघ कास्कीले कार्यालयका लागि एक/एक थान कम्प्युटर प्रदान गरेका छन्।
युवा व्यवसायी गोबिन्द लामिछानेले तीन लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् भने कलाकार कृष्ण कंडेलले ५० हजार नगद हस्तान्तरण गरेका छन्।
समितिको ३१औं स्थापना दिवसको अवसरमा मंगलबार आयोजित विशेष कार्यक्रममा संकलित संरचना र सामग्री मालपोत कार्यालयका निमित्त प्रमुख शोभाखर पोखरेललाई हस्तान्तरण गरिएको हो। कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य प्रमुख अतिथि रहेका थिए भने गण्डकी प्रदेशका प्रमुख सचिव डडुराज घिमिरेलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख आचार्यले मालपोत कार्यालयको अस्थायी संरचना निर्माणका लागि पोखरा महानगरपालिकाले करिब ३६ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरे। उनका अनुसार मालपोत कार्यालय स्थानीय सरकारको राजस्व संकलनको प्रमुख श्रोत भएकाले सेवा छिटो सुचारु गर्न आवश्यक रहेको छ।
आचार्यले आगजनी, तोडफोड र लुटपाटका कारण महानगरका मातहतका २६ वडा कार्यालयमा करिब २ अर्ब रुपैयाँभन्दा बढी क्षति पुगेको बताए। उनले जेनजी पुस्ताको बदनाम गर्दै निहित स्वार्थी तत्वहरूले सरकारी र निजी सम्पत्तिमा आगजनी गरेको आरोप लगाउँदै दोषीमाथि कानुनी कारबाही हुनुपर्नेमा जोड दिए।
कार्यक्रममा कलाकार कृष्ण कंडेलले नागरिक सेवाको प्रभावकारिता र संरचना पुनर्निर्माणमा सबै क्षेत्र गम्भीर बन्नुपर्ने बताए। कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, लेखापढी व्यवसायी समिति कास्कीका उपाध्यक्ष खडानन्द लामिछाने, मालपोत अधिकृत शोभाखर पोखरेल, र कानुन व्यवसायी समिति पोखराका सचिव लिला गिरीलगायतले पनि आफ्ना भनाइ राखेका थिए।











