33Shares

पोखरा । पोखरा–१२ शितलादेवीस्थित हिटिमार्गमा सोमबार बेलुकी स्थानीय महिलालाई पेस्तोल देखाएर सुन लुट्ने प्रयास गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ।

कास्की प्रहरीले मंगलबार दिउँसो पत्रकार सम्मेलनमार्फत पक्राउ परेका युवकले प्रयोग गरेको पेस्तोल नक्कली भएको पुष्टि गरेको हो।

प्रहरीका अनुसार पोखरा–१२ की देविकला अधिकारी माथि सोमबार राति करिब साढे ८ बजे लुटपाट गर्ने प्रयास भएको थियो। घटनापछि तत्काल सूचना पाउँदा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले जिल्ला पर्वत मोदी गाउँपालिका–१ स्थायी ठेगाना भई हाल पोखरा महानगरपालिका–२० भलाम बस्ने २४ वर्षीय सुजन बि.क. लाई पक्राउ गरेको हो।

उनको साथबाट नक्कली पेस्तोल एक थान र ग १३ प ९८३२ नम्बरको पल्सर मोटरसाइकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरीले दिएको जानकारीअनुसार आरोपीले अधिकारीको घाँटीमा लगाएको सिक्री तानेर कानको रिङ निकाल्ने प्रयास गरेका थिए। पीडित महिलाले प्रतिकार गरेपछि लुटेरा भाग्ने क्रममा मोटरसाइकल ढल्यो। त्यसपछि उनले हेल्मेट लगाएर भाग्न खोज्दा स्थानीयवासीले तत्काल प्रहरीलाई खबर गरेका थिए।

रामबजार प्रहरीले उनलाई पोखरा–१२ को भेटनरी नजिकैबाट नियन्त्रणमा लिन सफल भएको हो। प्रहरीले अहिले आरोपीमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ । यसैबीच, प्रहरीले रातको समयमा हिँडडुल गर्दा सावधानी अपनाउन स्थानीयलाई आग्रह गरेको छ।

33Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected