
चापाकोट,स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिका–१ बेलडाँडाका तुलसीराम भण्डारीले शिक्षण पेशाबाट अवकाशपछि व्यावसायिक फूलखेती गर्दै आएका छन् । ३० वर्षको शिक्षण पेशबाबाट गत महिना मात्रै अनिवार्य अवकाश लिएका थिए । ६० वर्षीय भण्डारीले विगत चार वर्षदेखि नै फूलखेती गर्दै आएको बताए । भण्डारी शिक्षक सेवामा रहदा फूलखेती उनकी श्रीमतीले गर्दै आएकी थिइन् । फूलखेतीलाई भण्डारीले शिक्षक सेवाबाट अवकाशपछि निरन्तरता दिनेगरी झनै उत्साह बढाएर काम गरेको बताए । अवकाशपछि मैले के गर्ने भन्ने सोचाईलाई फूलखेतीले निमिट्यान्न पारिदिएको बताए ।
शिक्षकका रुपमा कार्यरत रहँदा नै फुर्सदको समयमा व्यावसायिक बन्दै आत्मनिर्भर बन्ने प्रयास गरेका भण्डारीले गाउँमा नै रहेको आफ्नो तीन रोपनी जग्गामा फूलखेती गर्दै आएका थिए । गएको वर्ष एक रोपनी थपेर फूलखेती गर्दै आएका भण्डारीले यो वर्ष चार रोपनी क्षेत्रमा गर्दै आएको बताए । बाँझो जमिनको सदुपयोग गर्दै खेतीका लागि थप क्षेत्रफल बढाउने योजना रहेको उनको भनाइ छ । भण्डारीले अर्गानिक घर तथा कृषि फर्म दर्ता गरी विगत चार वर्षदेखि व्यावसायिक रूपमा फूलखेती गर्दै आएका थिए । शिक्षण पेसाबाट फुर्सद मिल्यो अब त पूर्णरूपमा फूलखेतीलाई प्रमुख आयको रुपमा ध्यान केन्द्रित गर्ने बताए ।
तिहारमा मात्रै दुई हजार पाँच सय केजी फूल बिक्री गर्ने योजना भण्डारीको छ । यो वर्ष १० लाखसम्म कमाइ हुने जानकारी दिए । गएको वर्ष फूल बिक्री गरेर झण्डै पाँच लाख आम्दानी गरेको भण्डारीले बताए । दशैं र तिहारको बिचमा प्रति केजी २८० रुपैयाँमा बिक्रि गरेका भण्डारीले व्यपारीका लागि प्रति केजी ३ सयका दरले बिक्रि गर्ने बताए । फूलको माग, बजार र आफ्नो खेतीलाई हेर्दा, आगामी माघ महिनासम्म सहज रुपमा फूल बेच्न सकिने भण्डारीको भनाइ छ । म्यारिगोल्ड कर्मा ५५५ जातको फुल भण्डारीले उत्पादन गर्दै आएका छन् । टिपेपछि पनि लामो समयसम्म नसुक्ने यो फूलको गुण भएकाले बिग्रिहाल्ने समस्या नभएको भण्डारीले बताए । फूलखेतीमा कालीगण्डकी गाउँपालिकाले विगतबर्ष देखी नै गर्दै आएको छ । कालीगण्डकीमा उत्पादन भएको फूल जिल्लाभन्दा बाहिर पनि बिक्रि हुदै आएको बताइएको छ ।
पछिल्लो समय स्याङ्जामा फूलखेती गर्ने क्रमिकरुपमा बढ्ने गरेको छ । कालीगण्डकी गाउँपालिकाले व्यवसायिक रुपमा फूलखेती गरेको खबर बाहिर आउन थालेपछि जिल्लाका बिभिन्न क्षेत्रमा फूलखेतीलाई आयआर्जनको माध्यम बनाउन लागिएको छ । यसमा स्थानीय सरकारले साथ दिने हो भने यो खेतीमा अझै आकर्षण बढ्ने भण्डारीले बताए ।







सम्बन्धित खवर
















