0Shares

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले सरकार र सुरक्षा निकायका प्रमुखहरूलाई आगामी निर्वाचन भयरहित, स्वतन्त्र र निष्पक्ष वातावरणमा सम्पन्न हुने विश्वास आम नागरिकमा जगाउने गरी जिम्मेवारीपूर्वक अघि बढ्न निर्देशन दिनुभएको छ।

शनिबार शीतल निवासमा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरू र चारै सुरक्षा निकायका प्रमुखहरूको उपस्थितिमा भएको उच्चस्तरीय छलफलमा राष्ट्रपतिले यस्तो निर्देशन दिनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो।

राष्ट्रपति पौडेलले निर्वाचनको सुरक्षासम्बन्धी तयारीमा कुनै कमजोरी नराख्न आग्रह गर्दै शान्ति–सुरक्षा कायम गर्न र नागरिकमा भरोसा जगाउन सुरक्षा निकायहरूलाई ‘बोल्ड्ली’ अर्थात् साहसिक ढङ्गले प्रस्तुत हुनुपर्ने बताउनुभयो। उहाँले भदौ २४ गतेका घटनामा लुटिएका हतियार र भागेका कैदीबन्दीलाई तुरुन्त फिर्ता गराउन पनि सम्बन्धित निकायलाई निर्देशन दिनुभयो।

छलफलमा प्रधानमन्त्री कार्कीले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले निर्वाचन सुरक्षाका लागि आवश्यक सबै साधन–स्रोत उपलब्ध गराइने बताउँदै सबै निकायहरूबीच पूर्ण सहकार्यको आवश्यकता औंल्याउनुभयो।

सुरक्षा निकायका प्रमुखहरूले राष्ट्रपति पौडेललाई निर्वाचन सुरक्षाको तयारीबारे जानकारी दिँदै विगतका कठिन परिस्थितिमा पनि सफलतापूर्वक निर्वाचन सम्पन्न गरेको अनुभव स्मरण गराए। उनीहरूले आगामी निर्वाचनका लागि सुरक्षा निकायहरू पूर्ण रूपमा तयार रहेको विश्वास दिलाए।

प्रधानसेनापति अशोक सिग्देल, प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभाग प्रमुख टेकेन्द्र कार्कीले आफ्नो–आफ्नो संस्थागत तयारीबारे जानकारी गराउँदै शान्ति–सुरक्षा सुनिश्चित गर्न समन्वित ढङ्गले काम गर्ने प्रतिबद्धता जनाए।

छलफलमा प्रधानमन्त्री कार्कीका साथै अर्थमन्त्री बाहेक सबै मन्त्रीहरूको उपस्थिति रहेको थियो। बैठकले निर्वाचन सुरक्षाबारे थप समन्वय र स्पष्ट कार्ययोजना तयार पार्ने निर्णय गरेको बताइएको छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected