
पोखरा, कात्तिक ४ । तिहार तथा शुभदिपावलीको अवसरमा लायन्स क्लब अफ पोखरा प्याराडाइजले परम्परागत रुपमा देउसी–भैलो कार्यक्रम सम्पन्न गरेको छ। नेपाली कला, संस्कृति र भेषभूषाको जगेर्ना गर्ने उद्देश्यसहित क्लबका सदस्यहरूले मादल बजाउँदै देउसी भैलो भट्याएका हुन्।
क्लबका संस्थापक अध्यक्ष विष्णु प्रसाद ढुंगानाको पोखरा–५, प्रस्यांगस्थित निवासमा आयोजित उक्त कार्यक्रममा सहभागीहरूले उत्साहपूर्वक देउसी–भैलो खेलेका थिए। झिलिमिली बत्ती र दीपमालाले सजाइएको परिसरमा कार्यक्रमले पर्वको उल्लास झल्काएको थियो।
कार्यक्रमबाट संकलित रकम सामाजिक सेवामा खर्च गरिने क्लबका अध्यक्ष गोविन्द बहादुर केसीले जानकारी दिए। उनका अनुसार, लायन्स क्लबले हरेक वर्ष देउसी–भैलो कार्यक्रममार्फत समुदायमैतिको भावना र सामाजिक उत्तरदायित्वलाई बलियो बनाउन योगदान गर्दै आएको छ।
संस्थापक अध्यक्ष ढुंगानाले नेपाली परम्परा र संस्कृति संरक्षणमा यस्ता क्रियाकलाप महत्वपूर्ण रहेको उल्लेख गर्दै देउसी–भैलोले सामाजिक एकता र सहकार्यको सन्देश दिने बताए।
कार्यक्रम क्लबका अध्यक्ष गोविन्द केसीको अध्यक्षता र सचिव नवराज बस्नेतको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर शैलेन्द्र मोहन भट्टराई र पूर्व डिष्ट्रिक्ट गभर्नर राम बहादुर बसेलले तिहार पर्वको महत्व, यसको सांस्कृतिक बिभिन्नता र सामाजिक सन्देशबारे आफ्ना धारणा राख्दै शुभकामना व्यक्त गरेका थिए।
सो अवसरमा डिष्ट्रिक्टका वरिष्ठ लिडरहरू, क्लबका पूर्व अध्यक्षहरू, स्थानीय टोल विकास संस्थाका पदाधिकारी र स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमले सांस्कृतिक एकता, सामाजिक सद्भाव र दान–सेवाको भावनालाई थप बलियो बनाएको सहभागीहरूले बताएका छन्।









