पूर्वप्रधानाध्यापक पौडेलद्वारा लिखित ‘१४ वर्ष घान्द्रुक’ स्मृतिग्रन्थ सार्वजनिक
- October 21, 2025
- 2781

पोखरा । पूर्वशिक्षक तोयनाथ पौडेलद्वारा लिखित ‘१४ वर्ष घान्द्रुक’ नामक स्मृतिग्रन्थ मंगलबार पोखरामा एक समारोहबीच सार्वजनिक गरिएको छ । घान्द्रुक समाज युके, घान्द्रुक समाज हङकङ र घान्द्रुक समाज जापानको संयुक्त प्रकाशनमा तयार गरिएको यो ग्रन्थ घान्द्रुकमा लेखकले बिताएका जीवनका महत्वपूर्ण १४ वर्षको जीवित दस्तावेजका रूपमा प्रस्तुत गरिएको छ ।
कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य प्रकाश बराल, अन्नपूर्ण गाउँपालिका वडा नं. १० का अध्यक्ष गौतम गुरुङ, संरक्षणविद् डा. हुम गुरुङ, मेश्रम वराह माविका सहायक प्रधानाध्यापक सुभ गुरुङ, पूर्ववडाध्यक्ष कुमार गुरुङ, पूर्वविद्यार्थी भुवन सिं गुरुङ, पर्यटन व्यवसायी तथा पूर्वविद्यार्थी कृष्ण गुरुङ, पूर्वविद्यार्थी एवं एक्याप घान्द्रुक इलाका कार्यालयका पूर्वप्रमुख जगनसुवा गुरुङ, पूर्वविद्यार्थी एवम् शिक्षक पूर्ण प्रसाद गुरुङ लगायतका वक्ताहरूले पुस्तकका विभिन्न पक्षबारे धारणा राखेका थिए । वक्ताहरूले पुस्तकले केवल लेखकका व्यक्तिगत अनुभव मात्र नभई तत्कालीन घान्द्रुकको राजनीतिक, सामाजिक, शैक्षिक र सांस्कृतिक पृष्ठभूमिलाई पनि यथार्थपरक रूपमा उजागर गरेको बताएका थिए ।

लेखक पौडेलका अनुसार पुस्तकमा समावेश अधिकांश सामग्रीहरू उनको शितलपाटी न्यूज डटकममा प्रकाशित स्तम्भहरूमा आधारित छन्, जसलाई पछि सम्पादन गरी पुस्तकाकार दिइएको हो । पुस्तकले घान्द्रुकमा उनले बिताएका दिनहरूका तीता–मीठा स्मृतिहरू, विद्यार्थी जीवनका प्रसंगहरू, सहकर्मीहरूसँगको अनुभव र स्थानीय समाजसँगको सम्बन्धलाई समेटेको छ ।
वि.सं. २००० साल साउन २५ गते कास्कीको घार्मीमा पिता छविलाल पौडेल र माता यशोधा पौडेलको कोखबाट जन्मिएका लेखक पौडेलले वि.सं. २०२३ सालमा शिक्षण पेशा प्रारम्भ गरी २०७५ साल असोजमा अवकाश लिएका थिए । करिब ३४ वर्षभन्दा बढी शिक्षण जीवन बिताएका उनले तीमध्ये १४ वर्ष मेश्रम वराह माध्यमिक विद्यालय, घान्द्रुकमा अध्यापन गरेका थिए । यही कालखण्डमा उनले विद्यालय, समुदाय र पर्यटन गाउँ घान्द्रुकमा भोगेका अनुभवहरूलाई पुस्तकमा आत्मीय ढंगले अभिव्यक्त गरेका छन् ।
वक्ताहरूका अनुसार पुस्तक घान्द्रुकको ऐतिहासिक र सांस्कृतिक अध्ययनका लागि सन्दर्भ सामग्रीका रूपमा उपयोगी हुने अपेक्षा गरिएको छ । संरक्षणविद् डा. गुरुङले भने, “यो ग्रन्थले शिक्षक पौडेलको निजी जीवन मात्र होइन, घान्द्रुकको सामुदायिक विकास र शिक्षण–संस्कारको यात्राको चित्रण गरेको छ,” भन्दै यसलाई भावी पुस्ताका लागि प्रेरणादायी कृति भएको टिप्पणी गरे ।
यसअघि पौडेलको “जीवन र संघर्ष” (२०८६) नामक आत्मकथात्मक कृति प्रकाशित भइसकेको छ । विभिन्न पत्रपत्रिकामा उनका लेख, कथा र कविताहरू पनि प्रकाशित हुँदै आएका छन् । ‘१४ वर्ष घान्द्रुक’ पुस्तकले उनका पूर्वरचनाहरूमध्ये सबैभन्दा स्मरणीय र ऐतिहासिक दृष्टिले महत्वपूर्ण योगदानको रूपमा दरिलो स्थान ओगट्ने अपेक्षा गरिएको छ ।









