
काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले देशभरका पार्टी संरचनालाई मतदाता नामावली अद्यावधिकमा सक्रिय हुन निर्देशन दिएपछि पार्टीका संगठनहरू तीव्र गतिमा अभियानमा उत्रिएका छन्। निर्वाचन आयोगले नयाँ मतदाता दर्ता गर्न ३० कात्तिकसम्मको म्याद तोकेसँगै कांग्रेसले अभियानलाई प्राथमिकता दिएको हो।

दुई महामन्त्रीले छठ पर्वलगत्तै प्रदेशदेखि वडा तहसम्मका पार्टी इकाइलाई बैठक आयोजना गरी मतदाता सूचीकरणमा ध्यान केन्द्रित गर्न परिपत्र गरेका छन्। उनीहरूले सबै तहका संगठनलाई बैठकमार्फत कार्ययोजना तय गर्न र दर्ता केन्द्रहरूमा मतदाता परिचालन गर्न निर्देशन दिएका छन्।
परिपत्रमा विशेषगरी युवा मतदातालाई लक्षित गरिएको छ। पार्टीले १८ वर्ष पूरा गरेका नयाँ मतदाताहरूलाई दर्ता गर्न प्रेरित गर्न ‘मतदाता दर्ता समूह’ गठन गर्न सुझाएको छ। सो समूहले स्थानीय तहमा गएर आवश्यक जानकारी दिने, परिचयपत्रका कागजात जुटाउन सहयोग गर्ने र दर्ता प्रक्रियामा सहजीकरण गर्ने कार्य गर्नेछ।
महामन्त्रीद्वयले निर्वाचनमा कांग्रेसको प्रभावकारी सहभागिता सुनिश्चित गर्न मतदाता सूची अद्यावधिकलाई संगठनको साझा जिम्मेवारीका रूपमा लिन आग्रह गरेका छन्। “हरेक योग्य नागरिकको नाम मतदाता सूचीमा अनिवार्य रूपमा दर्ता हुनुपर्छ,” परिपत्रमा भनिएको छ, “यसका लागि पार्टीका सबै तह सक्रिय र जिम्मेवार बन्नुपर्छ।”
कांग्रेसको यो अभियानलाई प्रदेश, जिल्ला र वडा समितिहरूले आ–आफ्नो क्षेत्रका स्थानीय टोलीमार्फत अघि बढाएका छन्। स्थानीय तहमा युवा, विद्यार्थी र महिला सञ्जालमार्फत मतदाता दर्ता अभियानलाई जनस्तरमा लैजाने तयारी भइरहेको पार्टी स्रोतले जनाएको छ। 







सम्बन्धित खवर















