2Shares

पोखरा, ६ कात्तिक । तिहारको अवसरमा होटल संघ पोखरा नेपालले बिहीबार आयोजना गरेको १८औं भाइटिका महोत्सवमा सयभन्दा बढी विदेशी पर्यटकले सहभागिता जनाएका छन्। पोखरा–६ लेकसाइडस्थित होटल पौवामा सम्पन्न महोत्सवमा १५ भन्दा बढी देशका पर्यटकले सहभागी भई नेपाली परम्पराअनुसार सप्तरंगी टिका लगाएका थिए।

संघका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार अमेरिका, बेलायत, चीन, भारत, जर्मनी, इजरायल, स्विडेन, अष्ट्रेलिया, स्पेन, न्युजिल्यान्ड, नेदरल्यान्ड लगायत देशका पर्यटकले भाइटिकाको अनुभव लिएका थिए। “पर्यटकको उत्साहजनक सहभागिताका कारण यो वर्षको भाइटिका महोत्सव विशेष बनेको छ,” अध्यक्ष सुवेदीले बताए।

महोत्सवमा रेन्वो चिल्ड्रन होमका छात्राहरूले सहभागी पर्यटकहरूलाई टीका लगाइदिएका थिए। सहभागी विदेशी पर्यटकलाई नेपाली ढाका टोपी र पछ्यौरा उपहार स्वरूप प्रदान गरिएको थियो। कार्यक्रममा सहभागीले सेलरोटी, अचार, फलफूल लगायतका नेपाली परिकार चाखे र देउसी–भैलोमा रमाएका थिए।

अष्ट्रेलियाबाट आएकी पर्यटक एनीले आफू नेपाल धेरैपटक आइसकेको बताउँदै यसपालि टीका लगाउन पाउँदा खुशी लागेको प्रतिक्रिया दिइन्। “नेपाल साँस्कृतिक रूपमा अत्यन्त समृद्ध देश हो, यहाँको अतिथि सत्कारले मलाई हरेक पटक प्रभावित बनाउँछ,” उनले भनिन्।

होटल संघ पोखराका द्वितीय उपाध्यक्ष तथा महोत्सव संयोजक गणेशराज पहारीले संस्कृति र पर्यटनलाई जोड्दै पोखराको पहिचानलाई विश्व समुदायमा विस्तार गर्ने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको बताए। उनका अनुसार पछिल्ला वर्षहरूमा पर्यटन क्षेत्र प्रभावित भइरहेका बेला यस्ता सांस्कृतिक कार्यक्रमहरूले पर्यटनलाई पुनः लयमा फर्काउन मद्दत पुर्‍याउने विश्वास गरिएको छ।

महोत्सवमा तिहारको महत्व, पाँचै दिनका विशेषता, दिपावलीको सांस्कृतिक पृष्ठभूमि लगायतका विषयमा सहभागी पर्यटकलाई जानकारी गराइएको थियो। कार्यक्रममा गोर्खा बियर र सोमरसबीले सहयोग गरेका थिए भने नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाले कार्यक्रम प्रवर्द्धन गरेका थिए। अनलाइन पार्टनरका रूपमा ‘रिभेल’ संलग्न थियो।

2Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected