शिक्षामा हातेमालो: नेपाल टेलिकमले फेदीखोलामा स्कुल ब्याग र सिम कार्ड वितरण गर्यो
- November 4, 2025
- 414

पोखरा । नेपाल टेलिकम गण्डकी प्रादेशिक निर्देशनालय, पोखराले सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत स्याङ्जा जिल्लाको फेदीखोला गाउँपालिका–५, बाँगेस्थित श्री मैदान माध्यमिक विद्यालयका ९४ जना विद्यार्थीलाई स्कुल ब्याग वितरण गरेको छ।
नेपाल टेलिकमको लोगो अंकित ब्यागहरू विद्यालयका सबै विद्यार्थीहरूलाई विद्यालय व्यवस्थापन समिति अध्यक्ष चेतनदास शर्मा, वडा अध्यक्ष डिलबहादुर गुरुङ र प्रधानाध्यापक ख्याम प्रसाद सुवेदीको उपस्थितिमा वितरण गरिएको थियो। साथै, विद्यालय क्षेत्रका अभिभावकहरूलाई निःशुल्क ‘नमस्ते प्रिपेड सिम कार्ड’ पनि वितरण गरिएको थियो।
कार्यक्रम नेपाल टेलिकम गण्डकी प्रादेशिक निर्देशनालयका निर्देशक बसन्त लिङथेपको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदी प्रमुख अतिथि तथा उपाध्यक्ष देउकुमारी गुरुङ विशिष्ट अतिथि रहेका थिए ।
प्रमुख अतिथि सुवेदीले विद्यालय सहयोगप्रति आभार व्यक्त गर्दै पालिकाले यस्ता रचनात्मक तथा शैक्षिक कार्यहरूमा सहकार्य गर्न सधैं तत्पर रहने बताएका थिए।
निर्देशक लिङथेपले दूरदराजका विद्यालयहरूमा टेलिकमको सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग पुर्याउन पाउँदा खुशी व्यक्त गर्दै विद्यालय परिवारप्रति धन्यवाद ज्ञापन गरे।
कार्यक्रममा गण्डकी प्रादेशिक निर्देशनालयका व्यापार प्रमुख महेन्द्र प्रसाद रिमाल, व्यापार शाखा प्रमुख दिनेशमणि लामिछाने,स्थानीय जनप्रतिनिधि, शिक्षक, अभिभावक र विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन नेपाल टेलिकमका प्रशासकीय अधिकृत पुष्कर कोइरालाले गरेका थिए।
सो अवसरमा विद्यालय व्यवस्थापन समितिले नेपाल टेलिकमलाई प्रशंसा पत्र प्रदान गर्दै सहयोगका लागि हार्दिक धन्यवाद व्यक्त गरेका थिए ।








सम्बन्धित खवर
















