जेन–जी र निजी क्षेत्रबीच सहकार्य : पोखरामा व्यावसायिक वातावरण सुदृढीकरणतर्फ पहल
- November 3, 2025
- 288

पोखरा। पोखराको निजी क्षेत्रले जेन–जी आन्दोलनपछि उत्पन्न व्यावसायिक अस्थिरता र असुरक्षाको वातावरणलाई सुधार गर्न जेन–जी पुस्तासँग सहकार्यको हात अगाडि बढाएको छ। पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीको संयोजकत्वमा गठन गरिएको ‘व्यावसायिक वातावरण निर्माण एवं सुरक्षा समिति’ ले जेन–जी पुस्ताका पोखरामा रहेका तथा सम्पर्कमा रहेका प्रतिनिधिहरूसँग पछिल्ला दिनमा पटक–पटक छलफल गर्दै आपसी सहकार्यको वातावरण निर्माण गरेको संघले जनाएको छ।
छलफलका क्रममा जेन–जी पुस्ताका प्रतिनिधिहरूले निजी क्षेत्रलाई थप लगानीका लागि प्रोत्साहित गर्ने र भयरहित वातावरणमा उद्योग–व्यवसाय सञ्चालन गर्न सहयोग पुर्याउने प्रतिबद्धता जनाएका छन्। यसअघि, निजी क्षेत्रका प्रतिनिधिहरूको भेलाले अध्यक्ष कार्कीको संयोजकत्वमा उक्त समिति गठन गर्दै व्यावसायिक वातावरण सुधार, शान्ति–सुरक्षाको प्रत्याभूति र व्यवसायीको मनोबल उकास्ने उद्देश्य लिएको थियो।
सोही निर्णयअनुसार आयोजित संवादमा जेन–जी पुस्ताको तर्फबाट आर्यनकुमार जैयसवाल, सरोज पराजुली, अनुप घिमिरे, सन्देश पराजुली, रोशनी गुरुङ र पूजा फगामीले सहभागिता जनाएका थिए।
संवादपछि पोखरा उद्योग वाणिज्य संघ र जेन–जी पुस्ताबीच भएको संयुक्त सहमतिमा जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। साथै, भ्रष्टाचार अन्त्य र सुशासनका पक्षमा संयुक्त रूपमा आवाज बुलन्द पार्ने, २०८२ भदौ २३ गते भएको दमनको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारवाहीको माग गर्ने, भदौ २४ गतेको घटनामा भएको तोडफोड, लुटपाट र आगजनीमा संलग्नमाथि कारवाही र क्षतिपूर्तिको माग गर्ने निर्णय गरिएको छ।
अध्यक्ष कार्कीका अनुसार दुबै पक्षले व्यावसायिक वातावरण निर्माण, नवप्रवर्तन, लगानी प्रोत्साहन तथा उद्योगी–व्यवसायीलाई सुरक्षाको प्रत्याभूति दिलाउन एकजुट भई अघि बढ्ने सहमति गरेका छन्। “सहमति कार्यान्वयन र भावी कार्यदिशा तय गर्न आवश्यकता अनुसार संयुक्त बैठक र छलफलको आयोजना गरिने निर्णय भएको छ,” संयोजक कार्कीले भने, “व्यवसायीमाथि पुनः आक्रमण नहोस्, दोषीमाथि कारवाही होस् र पीडित व्यवसायीले क्षतिपूर्ति पाउन् भन्नेमा जेन–जी पुस्ता स्पष्ट छ। परिवर्तनका लागि सो पुस्ताले निभाएको भूमिकाको हामीले कदर गरेका छौँ र सुशासनको अभियानमा सँगै काम गर्ने प्रतिवद्धता जनाएका छौँ।” जेन–जी आन्दोलनका क्रममा पोखराको निजी क्षेत्रले करिब साढे दुई अर्ब रुपैयाँभन्दा बढी क्षति बेहोरेको प्रारम्भिक अनुमान गरिएको छ।
संघका पूर्वअध्यक्ष विश्वशंकर पालिखेले उद्योगी–व्यवसायीको मनोबल पुनःस्थापना गर्न प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल र नागरिक समाजसँग समेत सहकार्य गर्ने जानकारी दिए।








सम्बन्धित खवर
















