
काठमाडौं । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ ‘आई’ नेपालद्वारा आयोजित बृहत रक्तदान कार्यक्रम काठमाडौंको सामाखुशीमा सम्पन्न भएको छ। टीयू लायन्स ब्लड बैंकको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा १०१ युनिट रगत संकलन गरिएको कार्यक्रमका संयोजक डिष्ट्रिक्ट ३२५ ‘आई’ नेपालका डिष्ट्रिक्ट चिफ पंकज जलानले जानकारी दिए।
काठमाडौंस्थित विभिन्न ५० वटा लायन्स क्लबको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि लायन्स अन्तर्राष्ट्रियका एलसीआईएफ एरिया लिडर राजन लम्साल रहेका थिए । कार्यक्रममा डिष्ट्रिक्ट ३२५ ‘आई’ नेपालका डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डे, प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर सुर्य कुमार केसी, टीयू ब्लड बैंकका अध्यक्ष एवं पूर्व डिष्ट्रिक्ट गभर्नर राजेन्द्र गिरी, उपाध्यक्ष तथा पीएमसिसी मन बहादुर रोका लगायतका विशिष्ट अतिथिहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।
संयोजक जलानका अनुसार हाल देशभर रगतको अभाव देखिएकाले उक्त रक्त अभाव पूर्तिका लागि विशेष अभियान स्वरूप कार्यक्रम आयोजना गरिएको हो।कार्यक्रमका क्रममा रक्तदाताहरुलाई निःशुल्क टी–सर्ट वितरण गरिएको थियो।
समग्र कार्यक्रमको व्यवस्थापन टीयू ब्लड बैंकका उपाध्यक्ष समेत रहेका पीएमसिसी लायन मन बहादुर रोकाको संयोजनमा सम्पन्न भएको थियो। रगतदान जीवनदान भन्ने सन्देशका साथ सम्पन्न सो कार्यक्रमले समाजमा स्वेच्छिक रक्तदानको महत्त्वबारे जागरूकता फैलाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकहरूले बताएका छन्।








सम्बन्धित खवर
















